Logo
प्रकाशकीय

‘डाक्साब’ सर्वसाधारणका लागि स्वास्थ्यकर्मीका तर्फबाट स्वास्थ्य ‘प्रेस्कृप्सन’ हो । चिकित्सकीय दृष्टिकोणबाट नेपाली स्वास्थ्यलाई नियाल्दा स्वास्थ्य जानकारीमा देखिएका बग्रेल्ती कमजोरीलाई सच्याउनका लागि ‘डाक्साब’ आजको आवश्यकता देखियो । जनस्वास्थ्यसँग सरोकार राख्ने विषय उठान गरेर प्रकाशित लेख रचनाहरू अधिकांश भ्रामक,कपोलकल्पित र तथ्यहीन हुने गरेको पाइन्छ । जसले मानव स्वास्थ्य र जीवनशैली माथि अत्यन्तै नकारात्मक प्रभाव पारिरहेका छन् । भ्रामक लेखहरूले प्रशय पाइरहँदा चिकित्सा पेशाप्रति बढ्दै गइरहेको आशङ्का चिर्न ठोस पहल भएको पाइँदैन । हालका दिनमा स्वास्थ्य सम्बन्धित सही, तथ्यगत समाचार सम्प्रेषण नहुँदा चिकित्सा पेशाप्रति आम मानिसमा धेरै भ्रम सिर्जना भएको पाइन्छ । आम मानिकालागि सूचना प्रविधिको पहुँच बढ्दै गइरहेको अहिलेका दिनमा सञ्जालमा तथा पत्रपत्रिकामा हुने सूचना प्रवाह नै अन्तिम सत्य हुन, भन्ने सोच विकसित भएको पाइन्छ । भ्रामक र तथ्यहीन लेखहरूले स्थान पाइरहनु र यिनको कडाइकासाथ नियमन गर्ने निकाय नहुनुले चिकित्सा पेशाप्रति बढिरहेको नकारात्मकतालाई मलजल गरिरहेका छन् । तिनै भ्रामक कुराका आधारमा विभिन्न रोगहरू, तिनका उपचार पद्धति, उपचार क्रममा आउने विज्ञान सिद्ध जटिलता आदि बारेमा मानिसले अस्पताल पुग्नु अगावै दक्ष स्वास्थ्यकर्मीको सल्लाह लिनु अगावै एउटा धारणा बनाउने गरेको पाइन्छ । यस कारण पनि उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि नै औँला उठ्ने, लापरबाहीको आरोप लगाइने साथसाथै आपराधिक घटनाहरू हुने गरेको पनि हामीले सुनिरहेका र देखिरहेका छौँ । आम नेपालीको स्वास्थ्य र स्वस्थतालाई ध्यानमा राख्दै विभिन्न जानकारी मूलक सामाग्री समेटेर हामीले डाक्साब प्रकाशनमा ल्याएका  छौँ । विभिन्न विधामा कार्यरत चिकित्सकहरू स्वयं सम्पादनमा चिकित्सा क्षेत्रसँग सम्बन्धित कुराहरू समुचित ढङ्गले जनमानसमा पुर्‍याउने यो पहल पक्कै पनि पत्रकारिता जगतमै कोसे ढुङ्गा साबित हुनेछ । ‘डाक्साब’ मार्फत मानव स्वास्थ्यका सम्पूर्ण पाटोका जानकार विज्ञ चिकित्सकहरू नै सरल र सहजरुपले आम नागरिकहरूसँग नजिक हुँदा पक्कै पनि भ्रम र यथार्थ बिचको खाडल पुर्न सकिनेछ र सही स्वास्थ्य जानकारीमा सम्पूर्ण पाठकहरूको पहुँच हुनेछ भन्नै हामीले विश्वास लिएका छौँ ।

सञ्चार माध्यम, सामाजिक सञ्जाल र इन्टरनेटका विभिन्न माध्यमबाट आएका कतिपय सामाग्री चिकित्सकीय भाषाका हिसाबले उपभोक्तामैत्री नभएको हामीले महसुस गरेका छौँ । स्वास्थ्यका फरक फरक विषयमा कार्यरत विशेषज्ञहरूमार्फत हामीले दिने सामाग्रीले यस्ता प्रवृत्ति निवारण गर्न सहयोग पुग्ने छ । डाक्टरहरूद्वारा नै प्रकाशित भएपछि सामान्य नागरिकका लागि पनि स्वास्थ्य सम्बन्धी जानकारीका लागि मुख्य पठनीय सामाग्री ‘डाक्साब’ बनाउने हाम्रो प्रयास रहने छ। स्वास्थ्य जस्तो संवेदनशील विषयमा चिकित्सा विज्ञानले जसरी स्वास्थ्यलाई बुझेको छ त्यसरी नै पाठक र आम नागरिकले बुझ्न पाउनुपर्छ भन्ने धारणाका साथ हामीले पृथक् स्वास्थ्य खबर पत्रिका ‘डाक्साब’ मार्फत समाज र राष्ट्रलाई योगदान दिन खोजेका हौँ । यहाँहरूको रुचि, जिज्ञासा र सान्दर्भिकतालाई हेरेर प्रत्येक अङ्कमा सोही अनुरूपका सामाग्री प्रकाशन गर्न हामी सधैँ तत्पर रहनेछौँ । अन्ततः ‘डाक्साब’को पहिलो अङ्कलाई पढेर आगामी प्रकाशनका लागि सल्लाह, सुझाव र प्रतिक्रिया दिनुहुन पाठक वर्गमा अनुरोध गर्दछौँ । ‘डाक्साब’को अवधारणादेखि प्रकाशनसम्मका विभिन्न चरणमा सहयोग पुराउनुहुने नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, काठमाडौँ महानगरपालिका, नेपाल चिकित्सक संघ लगायत सम्पूर्ण संघ संस्था तथा महानुभावहरू प्रति हार्दिक आभार प्रकट गर्दछौँ । ‘डाक्साब’ निरन्तर साथ र सहयोग कौ आशा गर्दछ ।

धन्यवाद !

(‘डाक्साब’को पहिलो अङ्क २०७७ साल फाल्गुण ०७ गते प्रकाशित )


ताजा अप्डेट
ट्रेंडिंग