Logo
डाक्टर्स मिडिया नेटवर्कको अवधारणा

मनोरञ्जन सङ्गीत साहित्य सहित वैज्ञानिक खोज र अनुसन्धानमा मात्र सीमित नभएर आजको सञ्चार जगत् स्वास्थ्य जस्तो संवेदनशील विषयमा पनि उतिकै अगाडी छ ।  यसरी स्वास्थ्यसँग सम्बन्धित सामग्री लेखिदा वा छापिदा सम्बन्धित विशेषज्ञले लेखिएको बाहेक अधिकांश लेख र समाचारहरू सत्य भन्दा टाढा छन् ।

स्वास्थ्य सम्बन्धित सही जानकारी र सही सूचना प्रवाहकोलागि  चिकित्सकहरूकै प्रत्यक्ष सहभागितामा सुरु भएको यस ‘डाक्साब’ पत्रिकाको प्रधान सम्पादक डा. सुमिता श्रेष्ठ प्रधानसँग गरिएको भिन्न अन्तर्वार्ताको सम्पादित अंश : उहाँ सँग  सम्पादक डा.रबिन बस्नेतले गर्नु भएको कुराकानी :

डाक्टर्स मिडिया नेटवर्क सुरुवात गर्ने विचार कसरी आयो ?

सर्वप्रथम त चिकित्सकहरू पनि पढाइको विज्ञता पाएको मान्छेहरूको समूह हो जसले सेवा सहित आम जीवन सँग निकटता राख्नु पर्छ । स्वास्थ्यको जानकार चिकित्सकहरू नै सरल र सहजरुपले किन आम नागरिकहरू सँग नजिक नहुने भनेर हामी आफैले सुरु गरेका हौ ।  यसो गर्दा भ्रम र यथार्थ बिचको खाडल पुर्न पनि सकियोस् र सही स्वास्थ्य जानकारी सबले पाउन भन्ने नै हो ।

तपाइहरूको पत्रिका अन्य पत्रिकाहरू भन्दा कसरी फरक छ त ?

हेर्नुस् यो त प्रस्टै छ नि हामी अन्य पत्रपत्रिका भन्दा फरक छौँ भनेर, हाम्रो पत्रिकामा लेखिने सन्दर्भ सामग्रीहरू लेखहरू सम्बन्धित विषयवस्तु बुझेको जानेको मान्छेबाट लेखिन्छ ।  यहाँ भ्रम पार्ने, तथ्यहीन, बेतुकका र मानिसको स्वास्थ्यलाई  नराम्रो असर पार्ने कुनै किसिमको लेखहरू हुँदै हुँदैन बरु त्यसको सट्टामा मानिसहरूको स्वास्थ्य सहज बनाउने, रोगहरू लाग्न नदिने र जनस्वास्थ्यका विभिन्न पाटोहरूलाई उजागर गरिन्छ । हामी बिलकुल स्वास्थ्यसँग सम्बन्धित भएर मात्र कलम चलाउँछौँ , सायद यो त नेपालमै पहिलो नै होला यस्तो हेल्थ डेडिकेटेड पत्रिका ।

तपाईँलाई विश्वास छ कि यसले सचेतना र जागरूकतामा योगदान गर्छ ?

एकदमै सही र प्रभावकारी ढङ्गबाट एक पटकमा ठुलो समूहलाई यसले योगदान पुर्याउँछ ।  हामी त त्यसै पनि ओपिडीको टेबल देखि नै जागरूकताको लागि काम गरिरहेका छौ झन् यसरी गर्दा मानिसहरूलाई धेरै हदसम्म रोगहरूको बारेमा थाहा हुने भयो अझ भन्दा खेरी खुल्ला काउनसेलिङ्ग नै भयो नि होइन र ! (सानो हाँसो ) जे होस यस भित्र कसरी अझ रचनात्मक भएर धेरै भन्दा धेरै जानकारीमूलक काम गर्न सकिन्छ हामी लागिपरिरहेका छौँ ।

पत्रिका र अनलाइन पेज नै बनाउनुको मुख्य कारण के होला अर्थात् के कुराले छोयो ?

स्वास्थ्य जस्तो संवेदनशील विषयमा  चिकित्सा विज्ञानले जसरी स्वास्थ्यलाई बुझेको छ त्यसरी नै  पाठक र आम नागरिकले बुझ्ने गरी हामीले समाज र राष्ट्रलाई योगदान दिन खोजेका हौ ।  च्याउसरि उम्रेका सूचना र सम्प्रेषणका माध्यमले स्वास्थ्यको विषयमा जथाभाबी प्रकाशन र प्रसारण गर्दा ठुला ठुला समस्या सिर्जना गर्ने  गरेको छ त्यस कारण हामी हाम्रो माध्यम मार्फत समाधान हुन चाहन्छौँ । हामी सबै जनताले के सही के गलत हो  बुझ्नु पर्छ भन्ने कुरामा विश्वास गर्छौ ।  अनावश्यक रूपमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथिको प्रहार पनि कम होस भन्ने पनि हाम्रो उद्धेस्य हो  ।  पछिल्लो समय यस्ता घटनाले अलि बढी नै दुख दिइरहेको  छ ।

नेपालको स्वास्थ्य क्षेत्रको मुख्य समस्या के हो त ?

समस्या नै समस्या भएको यस क्षेत्रमा यही नै मुख्य भनेर त कसरी भन्ने किनकि भर्खरै पनि हामी सबैले महसुस गरिनै हाल्यौ कोरोनाको  कारणले हाम्रो स्वास्थ्यको तयारी अवस्था र क्षमता यो त सबैले भनिनै सक्नु भयो।  मैले अलि भन्नु पर्ने नै देखिएन, सरकार र राजनीतिक नेतृत्वे बोल्ने खालको कुरा त मैले किन गर्ने खाली हाम्रो प्रयास भनेको जसरी सकिन्छ स्वास्थ्य क्षेत्रमा केही योगदान पुर्याउँ भन्ने नै हो , सायद त्यसैको फलस्वरूप आज हामी डाक्साब मासिक पत्रिका मार्फत सुरुवात गर्दै छौँ ।

हवस् त अन्तमा कहालाई लागेको भन्नै पर्ने केही ?

नेपाल विभिन्न समस्याहरूका बाबजुद जसरी चिकित्सक स्वास्थ्यकर्मीहरुले काम गरिरहनु भएको छ यो एकदमै सम्मानयोग्य छ।  बेला बेला विभिन्न उत्तेजित काम गरेर तोडफोड गरेर हाम्रो चिकित्सक स्वास्थ्यकर्मीहरूलाई हतोत्साहित नबनाइदिन म सबैलाई अनुरोध गर्दछु किनकि परेको बेलामा उचित स्रोत साधन नहुँदा कोरोनाको यो महालडाइमा उहाँहरुले धेरै राम्रो काम गर्नु भएको छ।  हल्लाखल्लाको पछि पनि नलाग्न सबैमा अनुरोध ।  हामी स्वास्थ्यका सही, सत्य र आवश्यक कुराहरू तपाईँहरू माझ सजिलो तरिकाले पुराएर सहयोग गर्न लागेका छौ ।हामीलाई पढेर सहयोग गर्नुहोस् । तपाईँका गुनासा सुझावहरू हाम्रो लागि उपयोगी हुनेछन्, अन्तमा सबै चिकित्सकहरू आम नागरिक सँग रहेको कुरा हामी हाम्रो पत्रिका र पेज मार्फत अभिव्यक्त गर्दैछौँ, धन्यवाद ।


ताजा अप्डेट
ट्रेंडिंग