Logo

बहु आयामिक डा. मिस्टर नेपाल
स्वास्थ्य सेवामा समर्पित हुँदै मिस्टर सुप्रानेशनलसम्म

डाक्साब
आइतवार, असार ६, २०७८ मा प्रकाशित

अस्पतालमा पुग्दा सेतो एप्रोनमा काँधमा स्टेथिस्कोप भिरेर मन्द मुस्कानमा झुल्किने चिकित्सक पेसा अधिकांशको सपना हो । कठोर मेहनत र सङ्घर्षबाट बनेका चिकित्सक सधैँ बिरामीको रोग र उपचारमा मात्रै सीमित रहँदैनन् । स्वास्थ्य कर्म बाहेक धेरै चिकित्सक साहित्य, मनोरञ्जन, सामाजिक अभियान लगायतका क्षेत्रमा पनि क्रियाशील छन् । यस्तै उदाहरणीय चिकित्सक हुन् मिस्टर नेपाल २०१९ तथा २०२१ का सुप्रा नेशनल नेपाल डा. सन्तोष उपाध्याय । आगामी अगस्ट–सेप्टेम्बरमा पोल्यान्डमा आयोजित ‘सुप्रा नेशनल प्रतियोगिता–२०२१’मा नेपालका तर्फबाट सहभागी हुँदै गरेका उहाँ चिकित्सा पेसासहित अन्य सामाजिक गतिविधिमा निकै सक्रिय हुनुहुन्छ ।

काठमाडौँ महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एमबिबिएसको अध्ययन गरेका डा.उपाध्यायले अध्ययन पुरा भएपछि अछामको कमलबजारमा १५ महिना सम्म मेडिकल अफिसरको रूपमा काम गर्नुभएको थियो । देशका ६५ भन्दा धेरै जिल्ला पुगेका मिस्टर नेपाल डा. सन्तोष उपाध्यायले देशमा देखेको स्वास्थ्य क्षेत्रका केही समस्या र भोगाई डाक्साबमा प्रस्तुत गर्नुभएको छ ।

चिकित्सक पनि मिस्टर नेपाल

म मेरो रहरले चिकित्सक भए, देशका विभिन्न गाउँ पुग्दा अभावका बिच पनि स्वास्थ्य सुविधाको अभाव छ । एक जना चिकित्सक थपिँदैमा स्वास्थ्य क्षेत्र नै परिवर्तन हुने त होइन तर हामीले दैनिक समाचार देख्ने गरेका छौँ गाउँमा एक जना पनि चिकित्सक नहुँदा बिरामीलाई जोखिम मोलेर अन्यत्र रिफर गर्नु पर्ने, समयमा उपचार नपाउने जस्ता घटनामा केही न केही टेवा त पुग्छ नै । त्यो सोचले मलाई चिकित्सक बनायो भने मलाई मोडलिङको क्षेत्रमा छिराउने पनि यही समाज नै हो । बाल्यकाल देखि नै हामीले कुन हिरोले के लगाउँछ, कसरी बोल्छ, के खान्छ, के गर्छ भन्ने कुरा खुब चाख राखेर सिको गर्छौँ । चर्चित मानिसले गर्ने साना–साना कामले पनि समाजमा ठुलो प्रभाव छोड्न सक्छ । मोडलको परिभाषा बुझाउनका लागि म यो यात्रामा लागे । मोडल भनेको रोल मोडल हुनु पर्छ भन्ने मलाई लाग्छ । मिस्टर नेपाल भन्ने त मेहनत पछि जितिएको एउटा पहिचान हो । यो पहिचानलाई समाजले हरेक कोणबाट हेर्न सक्छन् । म चाहन्छु, यदि कोही व्यक्तिले मिस्टर नेपाल २०१९ लाई सम्झिँदै गर्दा चिकित्सक सम्झियोस् अनि समाजसेवीका रूपमा सम्झियोस् । अनि आफू पनि यस्तै बन्ने प्रेरणा लियोस् ।

अछामको कमलबजारमा १५ महिनामा देखिएको नेपालीको स्वास्थ्य पहुँच

सहरी क्षेत्रमा अस्पतालहरू सञ्चालन गर्ने होडबाजी चल्छ, केही मिटरको दुरीमै सरकारी तथा निजी अस्पतालका थुप्रै विकल्प भेटिन्छन् । तर नेपालका धेरै ग्रामीण भेगहरूमा सामान्य स्वास्थ्य चौकीले धेरैको प्राण धानेका छन् । न स्वास्थ्यकर्मी, न उपकरण न औषधि । बिरामी रिफर गर्नुको विकल्प नहुने रहेछ । यही बाध्यतामा थियो अछामको कमलबजार स्थित प्राथमिक स्वास्थ्य चौकी पनि । स्वास्थ्य कार्यालयको साँगुरो भवन थियो । न औषधि थियो न उपकरण । बल्ल–बल्ल पुगेका स्वास्थ्यकर्मीले पनि मन गाँठो पारेर बिरामीलाई नेपालगन्ज रिफर गर्नुको विकल्प थिएन । कमलबजारबाट नेपालगन्ज रिफर गर्नु काठमाडौँको शिक्षण अस्पतालबाट ललितपुरको पाटन अस्पताल रिफर गरेजस्तो होइन । कच्ची सडकमा दिनभरको यात्रामा कति बिरामीले अर्को अस्पताल नपुग्दै ज्यान गुमाउँथे । यस भन्दा अघिसम्म सामान्य सर्जिकलका सामानको पनि अभाव थियो । स्वास्थ्य चौकीमा पुगेका हरेक नागरिकका स्वास्थ्य सम्बन्धी गुनासो सुन्दा पनि स्वास्थ्यका हिसाबले सहर र गाउँको बिचमा ठुलो खाडल रहेको स्पष्ट हुन्छ ।

स्वास्थ्य सुविधाको अभाव

नेपाल सरकारले स्वास्थ्य क्षेत्रको उपकरणमा खर्च गरिरहँदा जनशक्तिमा भने ध्यान दिएको छैन । २२ हजार भन्दा बढी चिकित्सकको माग हुँदा जम्मा २ हजारको हाराहारीमा मात्रै सरकारी चिकित्सक खटाइएको छ । ठुलो सङ्ख्यामा चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरू योग्य भएर पनि अवसर नपाएर बिदेसिँदै छन् । तर ग्रामीण भेगमा पठाइँदैन । सरकारले करारमा भर्ती गरेर झारा टार्ने काम गरे पनि लोकसेवा आयोगबाट भर्ना गरेको छैन । यसले ग्रामीण भेगमा पूर्वाधार विस्तार भए पनि जनशक्ति व्यवस्थापन भइरहेको छैन । स्वास्थ्य क्षेत्रमा मात्र यस्तो क्षेत्र हो जहाँ एक जना योग्य चिकित्सक वा स्वास्थ्यकर्मी भएन भने जुनसुकै व्यक्तिको पनि उपचार अभावमा ज्यान जान सक्छ । यो कुरालाई सरकारले बेवास्ता गर्दा देशका ग्रामीण भेगका धेरै स्वास्थ्य चौकीहरू रिफर सेन्टर मात्रै बनेका छन् । यस्ता घटनाको साक्षी उनी आफैँ बनेका छन् । कमलबजार स्वास्थ्य चौकीमा एक साँझ हातको २ वटा औँला २ टुक्रा भएको अवस्थामा बालकलाई डोर्‍याउँदै आमा पुगिन् । शिक्षण अस्पतालमा सर्जिकल वार्डमा काम गरेको अनुभवकै आधारमा उनी औँला जोड्न सफल भए । तर उनी काठमाडौँ सरुवा भएको केही दिन पछि उस्तै घटनाको घाइते स्वास्थ्य चौकी पुगे तर चिकित्सक नभएकै कारण उनलाई नेपालगन्ज रिफर गरियो । नेपालगन्ज पुग्दासम्म धेरै समय भइसकेकोले उनको औँला जोडिएन । पर्याप्त चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन हुन नसक्दा एउटै गाउँका उस्तै दुर्घटना भोगेको दुई बालकको जीवनमा धेरै फरक पर्ने देखियो ।

समन्वय अभाव

स्वास्थ्य क्षेत्रलाई स्थानीय निकाय, प्रदेश र संघीय सरकारले प्राथमिकताको सूचिमा राखे पनि स्वास्थ्य क्षेत्रले त्यो अनुभव गरेको देखिँदैन । स्वास्थ्य चौकीमा आकस्मिक औषधि खरिदका लागि चिकित्सकले गरेको सिफारिस स्थानीय तहबाट पास हुनै समय लाग्छ । स्वास्थ्य चौकी तथा स्थानीय अस्पतालहरू आर्थिक रूपमा स्थानीय निकायसँग जोडिने भएकाले बजेट पास हुनै समस्या देखिन्छ । त्यसपछि प्रदेश तथा संघीय सरकारबाट माग गर्नुपर्ने सेवा सुविधा सोझै स्वास्थ्य संस्थाले पाउँदैनन् । ग्रामीण भेगमा खटिने स्वास्थ्यकर्मीको काम उपचार कम, सरकारी संयन्त्रसँग समन्वय धेरै गर्नुपर्ने विडम्बना छ । जुन स्वास्थ्य क्षेत्रका लागि विडम्बना बनिरहेको छ। कमलबजारमा मात्रै उनले यो समस्या भोगेनन्, काठमाडौँ शिक्षण अस्पतालबाट सरुवा भएर अछामको विकट ठाउँ जान समेत उनले फलामको चिउरा चपाउन सरह भएको थियो ।

मिस्टर नेपाल डाक्टर अबको भूमिका

हरेक महिना जस्तो कुनै न कुनै स्वास्थ्य सम्बन्धी कार्यक्रम लिएर ग्रामीण भेगमा पुग्ने सन्तोष अब सरकारी संयन्त्रकै प्रयोग तथा नागरिकको सहभागितामा नै ग्रामीण भेगमा स्वास्थ्य समस्या समाधान गर्ने अभियानमा हुनुहुन्छ । मिस्टर नेपालको पहिचानले विभिन्न निकायले गर्ने विश्वास र सहयोगलाई स्वास्थ्य क्षेत्रका उत्थानमा जोड्ने प्रयासमा हुनुहुन्छ ।

ब्रेन एण्ड ब्युटी मिस्टर नेपाल

लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग