Logo

महिला स्वयम् सेविकाको २८ वर्षे अनुभव : समाजको सम्मान नै कामको ऊर्जा
२०५१ सालदेखि स्वास्थ्य स्वयम् सेविकाको रूपमा हालसम्म कार्यरत कल्पना घिमिरे (पराजुली) सँग गरिएको कुराकानी

डाक्साब
आइतवार, असार ६, २०७८ मा प्रकाशित

विक्रम संवत् २०५१ सालमा तत्कालीन हेटौँडा नगरपालिकाको संयोजनमा जिल्ला स्वास्थ्य कार्यालयबाट १५ दिने स्वास्थ्य सम्बन्धी आधारभूत तालिम लिएर स्वास्थ्य स्वयम् सेविकाको रूपमा कल्पना घिमिरे (पराजुली) हालसम्म कार्यरत छिन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ मा स्वास्थ्य स्वयम् सेविका रहेकी छिन् । त्यस बेला स्थानीय स्तरमा गर्भवती महिला, बालबालिकाहरूलाई पोषण सम्बन्धी ज्ञान र सामग्री वितरणमा स्वयम् सेविकाहरू परिचालन हुने गरेका थिए । प्रस्तुत छ, स्वयम् सेविका कल्पना घिमिरे (पराजुली) सँग गरिएको कुराकानी :

१. कहिलेबाट स्वयम् सेविका हुनु भयो ?

नगरपालिकाले एसएलसी गरेकालाई स्वयम् सेविकाको लागि १५ दिने तालिम दिएको थियो । त्यही तालिम लिएपछि महिनामा एक पटक मेरो वडामा पोषण सामग्री वितरण गर्ने काम सुरु भएको हो ।

२. त्यस बेला कस्तो काम गर्नु पर्थ्यो ?

त्यस बेला त प्रत्येक घरघर गएर पोषण सम्बन्धी ज्ञान दिनु पर्थ्यो । गर्भवतीहरूलाई आइरन चक्की लगायत आवश्यक चेतना दिने काम हुन्थ्यो ।

३. तपाई स्वास्थ्य स्वयम् सेविका हुने समयमा आम मानिसको स्वास्थ्य सम्बन्धी चेतना कस्तो थियो ?

५१/५२ सालतिरको चेतनाको स्तर निक्कै कमी थियो । म आफै पनि २०४६ साल ताका गर्भवती हुँदा माटो खान मन लाग्ने भएको थियो । खाइयो पनि, तर त्यस्तो हुनुको कारण शरीरमा आइरनको कमीले भएको रहेछ । तालिम लिएपछि थाहा भो । अब आफै भन्नुस् त्यस बेलाको चेतना कस्तो थियो ।

४. तपाईँहरूले पारिश्रमिक पाउनु हुन्छ कि विशुद्ध सेवा मात्रै हो ?

कुरा किन लुकाउनु, हामीहरूलाई कुनै पनि पारिश्रमिक हुँदैन र छैन पनि । महिना भरिको रिपोर्ट बुझाएपछि नगरपालिकाले १ हजार रुपैयाँ दिन्छ, त्यति मात्रै हो । पछिल्ला वर्षहरू देखि कपडा किन्न पैसा चाहिँ वर्षमा १ पटक पैसा दिन थालेको छ । दुःख छ नि सर, दैनिक जसो घरघर हिँड्नु पर्छ । कसमे कम काम गर्न गएको दिन मात्रैको पनि जोडेर ज्याला पाए गर्जो टर्थ्यो । पहिला त भिटामिन ए कार्यक्रममा दैनिक ५० रुपैयाँ पाइन्थ्यो, दुई दिन हुन्थ्यो १ सय रुपैयाँ पाइन्थ्यो । अहिले चाहिँ २ दिनको ८ सय पाइन्छ, त्यो पनि वर्षमा १ चोटि । शायद स्वयम् सेवा भनेर होला राज्यको आँखामा नपरेको । जति सकिन्छ सेवा गर्ने अब होइन त सर ?

५. भनेपछि स्वयम् सेविकाहरूका लागि पारिश्रमिक भनेर मासिक रूपमा केही आउँदैन ?

हो सर, केही आउँदैन । ग्रामीण बस्तीहरूमा आमा र शिशुको स्वास्थ्य ख्याल गर्न हामी नै पुग्छौँ, स्वास्थ्यकर्मीहरू नपुग्ने अवस्थामा स्थानीय भएकाले पनि हाम्रै पहुँच हुन्छ । मातृ मृत्युदर, बाल मृत्युदर घटेको पनि छ । गएको दिनको मात्रै ज्याला दिए पनि हुन्थ्यो । तर पनि हाम्रा लागि बोलिदिने छैनन् ।

६. तपाईँहरूलाई ग्रामीण क्षेत्रमा कत्तिको विश्वास गर्छन् ?

हामीलाई ज्यादै विश्वास गर्छन् । स्थानीय स्वास्थ्य संस्थामा आमा र बच्चालाई आवश्यक खोप, विभिन्न जाँच गराउने काममा उनीहरूकै दैलोमा पुगेका हुन्छौँ ।

७. तपाईँहरूलाई स्थानीयहरूले कस्तो सोचेका हुन्छन् ?

हामीलाई त निक्कै तलब खाने जस्ता सोचेका हुन्छन् नि । गाउँघरमा डुल्दा पनि हामीलाई स्वास्थ्य सम्बन्धी भन्न त्यतिकै आएको होइन कि सरकारले निक्कै धेरै रकम दिएको होला भन्ने सोचाई छ, तर त्यस्तो के हुनु । ज्याला समेत पाइन्न । पुरै सामाजिक सेवा हो ।

८. काम गर्ने क्रममा बिर्सनै नसकेको कुनै घटना छ कि ?

छ नि कति छ कति । एउटा घटना भन्छु । २०५८ साल तिरको घटना हो । मैले पनि सिएमए पढिसकेको थिए । जोस जाँगर थियो । मानिसहरू सुत्केरी गराउन अस्पताल जानै नमान्ने । सामान्य तालिम पनि लिएकाले कुमलटारमा सुत्केरी गराउन गए । तर जन्मेको शिशुको सास चलेन, म निक्कै आत्तिएछु । तर मुखले सास फुकेमा सास चल्न सक्छ भन्ने पनि सुनेकाले त्यसै गरे नभन्दै शिशुको सास चल्यो पनि । त्यो दिन देखि सुत्केरी गराउन जानै छोडिदिए । अस्पताल लैजान प्रेरित गर्छु ।

९. अहिले त अस्पतालमा सुत्केरी गराउँदा विभिन्न सुविधाहरू पनि छ नि ?

हो, गर्भवती भएदेखि सुत्केरी नभएसम्म ४ पटक सरकारी स्वास्थ्य संस्थामा जाँच गराएमा सुत्केरी महिलालाई यातायात खर्च १ हजार रुपैयाँ उपलब्ध गराइन्छ भने, वडा प्रतिनिधि, स्वास्थ्य कार्यालय र स्वयंसेविका सहितको टोली गएर १३ सय रुपैयाँको विभिन्न पोषणयुक्त सामग्री घरैमा गएर दिने गरेका छौँ ।

१०. स्थानीय स्तरमा त परिचित भइने रैछ, राम्रै हो नि ?

हो हामीलाई सबै घरका सदस्यहरूले चिन्छन् । हामी सधैँ गाउँघरमै हिँड्ने कामले पनि होला । सबैले सम्मान गरेर बोलाउँदा खुसी पनि लाग्छ ।

महिला स्वास्थ्य स्वयम् सेविका स्वास्थ्य स्वयम् सेविका

लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग