Logo

शल्य चिकित्सामा महिला
इतिहासमा शल्य चिकित्सा क्षेत्रमा महिला चिकित्सक, वर्तमान अवस्था, रोजाईकन कारण, चुनौती , काम र जीवनको सन्तुलन र भविष्य

डा. सुमिता प्रधान
आइतवार, असार ६, २०७८ मा प्रकाशित

चिकित्सा क्षेत्रमा शल्य चिकित्सा विशेषतः पुरुष प्रधान विधाको रूपमा स्थापित छ । तर केही समययता मेडिकल शिक्षामा छात्राहरूको पहुँच बढेसँगै धेरै भन्दा धेरै महिला चिकित्सकहरूले शल्य चिकित्सालाई आफ्नो विशेषज्ञता अध्ययनको विषय बनाइरहेको पाइन्छ ।

इतिहासमा शल्य चिकित्सा क्षेत्रमा महिला चिकित्सक

विगतका पानामा हेर्ने हो भने महिलाहरू शल्य चिकित्सा क्षेत्रमा समावेश भएको र योगदान गरेको लामो इतिहास पाइन्छ । आज भन्दा पाँच हजार वर्ष पहिले उर सहरमा (मेसोपोटामिया सभ्यताको एक सहर, अहिलेको दक्षिणी इराक) रानी सुवाद शल्य चिकित्सामा सहभागी भएको इतिहास रहेको छ । उनको मृत्युपश्चात् उनको आत्माले शल्यक्रिया गरोस् भन्ने विश्वासका साथ उनीसँगै शल्यक्रिया गर्ने सामग्री गाडिएको इतिहास रहेको पाइन्छ । पुरुष प्रधानताका वावजुत महिला चिकित्सकहरूले पुरुषझैँ देखिएर शल्य चिकित्सा क्षेत्रमा लागेका तथ्यहरू पनि रहेका छन् । १९ औँ शताब्दीका ख्यातिप्राप्त ट्रमा सर्जन जेम्स ब्यारीले आफ्नो लैङ्गिक पहिचान लुकाएर काम गर्ने गरेको तथ्य सन् १८६५ मा उनको मृत्युपश्चात् मात्रै खुलेको थियो ।

शल्य चिकित्सामा महिलाको उपस्थिति अहिले कस्तो छ ?

हाम्रो परिवेशमा अहिलेको अवस्थामा मेडिकल कलेजमा ५० प्रतिशतभन्दा बढी छात्राहरू अध्ययनरत छन् । तर यति हुँदाहुँदै पनि शल्य चिकित्सा विधाका उच्च शिक्षामा महिलाहरूको पकड कमजोर छ । अहिले पनि शल्य चिकित्साको पढाई हुने प्राज्ञिक क्षेत्र र त्यसको नेतृत्व तहमा महिला र पुरुषबिच ठुलो खाडल रहेको छ । सामाजिक हिसाबमा अहिले पनि हामीहरू लैङ्गिक असमानतालाई हटाउन सकिरहेका छैनौँ भने पेसागत रूपमा यो प्राज्ञिक पेसा पनि अछुतो रहन सकेको छैन ।

शल्य चिकित्सा नै किन ?

महिला चिकित्सकहरू शल्य चिकित्सालाई नै आफ्नो प्राज्ञिक पेसा बनाउनुका कारणहरू पुरुष सहकर्मीका भन्दा फरक हुँदैनन् । मेरो आफ्नो व्यक्तिगत कुरा गर्दा पनि आफूलाई प्रेरित गर्ने आदर्श व्यक्तित्वहरू शल्य चिकित्सक रहनु, यसको लागि आवश्यक पर्ने प्राज्ञिक ज्ञान, प्राविधिक पाटो र शल्यक्रियामा तत्काल गर्नु पर्ने निर्णयहरूमा आफू अब्बल हुनु आदि कारणले म शल्य चिकित्साको क्षेत्रमा आकर्षित भए ।

मेडिकल स्कुलका सुरुका दिनमा शल्यक्रिया सम्बन्धी पढाई हुँदा नै म तत्कालै यसप्रति आकर्षित भएको थिए । यसका साथै एक सफल सर्जन बन्न आवश्यक पर्ने गुणहरू, यस क्षेत्रमा प्राप्त हुने इज्जत, इमानदारिता, कार्यकुशलता, समस्या समाधान गर्ने क्षमता र कठिन काम गरिसकेपछि प्राप्त हुने सन्तुष्टिले पनि आकर्षण गर्‍यो । साथै यस क्षेत्रका पुरुष तथा महिला प्राज्ञ ज्युहरू दुवै आफ्नो प्रेरणाका श्रोतका रूपमा पाउन पनि आफूलाई निकै भाग्यशाली ठान्दछु ।

चुनौतीहरू

संसारभर पुरुष वर्चस्व रहिआएको यस क्षेत्रमा महिला र पुरुषको समान उपस्थितिको जति वकालत गरिए पनि यथावत् रहेका चरम लैङ्गिक असमानता छिप्न सकेको छैन । त्यो चाहे जनरल सर्जन वा अन्य सबस्पेलिष्ट क्षेत्रमा नै किन नहोस् । शल्य चिकित्सा विधामा महिला सहभागिता कम हुनु पछाडिका केही कारणहरू :
– लैङ्गिक विभेद
– सामाजिक रूपमा प्रतिकुल कार्य तालिका
– कठोर तालिम

व्यक्तिगत र व्यावसायिक जीवनबिचको असन्तुलन व्यावसायिक विकासका लागि कम सम्भावना गर्भवती र सुत्केरी बिदाका कारण बढुवामा हुने समस्या प्रतिकुल सर्त, कामबाट हुने थकान र प्रतिकुल नीति आदीका कारण महिलाहरू शल्य चिकित्साको क्षेत्रमा खुलेर आउन सकेको छैनन् ।

काम र जीवनबिचको सन्तुलन

म यति मात्र भन्न चाहन्छु कि शल्यक्रियाको कारणले न मेरो व्यक्तिगत जीवन रोकिएको छ न त व्यक्तिगत जीवनको कारणले शल्यक्रिया नै रोकिएको छ । म के महसुस गर्छु भने म एक सफल सर्जन हुँ, किनकि म एक आमा र श्रीमती हुँ । म एक सफल आमा र श्रीमती हुँ र म एक सर्जन पनि हुँ । मेडिकल पढिरहेका अधिकांश विद्यार्थीहरू र शल्यक्रियामा अध्ययन गरिरहेकाहरूको यही प्रश्न हुन्छ । ‘के तपाईँ सफल सर्जन, अभिभावक र श्रीमती बन्न सक्नुहुन्छ ?’ म भन्ने गर्छु ‘हो यो सम्भव छ’ । तपाई एकै पटकमा एक सफल सर्जन, आमा र श्रीमती बन्न सक्नुहुन्छ ।’ जीवनका केही दिनहरूमा तपाई एक सफल सर्जन हुन सक्नुहुन्छ । अरू दिनहरूमा तपाई सफल अभिभावक हुन सक्नुहुन्छ । र अन्य दिनमा तपाई सफल श्रीमती बन्न सक्नहुन्छ । हामीहरूले जीवनमा लचकता अपनाएर जीवनको सन्तुलन कायम गर्नुपर्छ । साथै धेरै महिला बिरामीहरू महिला सर्जनहरू नै खोजिरहेका हुन्छन् । महिला सर्जनहरू नै बिरामी महिलाहरूको लक्षणका बारेमा धेरै जानकार हुन्छन् । अझ उनीहरू लजालु हुने र आफ्नो रोगका लक्षणबारे पुरुष डाक्टरहरूलाई भन्नुपर्दा असजिलो महसुस गर्छन् । जसका कारणले महिला सर्जनहरूको माग रहेको छ ।

हामी के गर्न सक्छौँ ?

शल्य चिकित्सा क्षेत्रमा लैङ्गिक अवरोध हटाउनका लागि आधारभूत र दीर्घकालीन योजनाको खाँचो छ । यसमा समाजले महिलाहरूलाई हेर्ने दृष्टिकोण र कसैको लिङ्ग, जात र उसको यौनको झुकावको आधारमा उसले गर्ने कामको निर्धारण हुनुहुँदैन भन्ने चेतनालाई बढाउनुपर्ने खाँचो छ । अन्य सामाजिक समस्याहरू जस्तै यस विभेदपूर्ण अवस्थाको निराकरण गर्नका लागि पनि सुरुवात भनेको व्यक्तिगत तवरको पहलकदमी नै हो । व्यक्तिगत र संस्थागत तहमा मिलेर शल्य चिकित्सा क्षेत्रमा लैङ्गिक विभेदको कुनै स्थान नभएको उदाहरण पेस गर्न जरुरी छ ।सहायक प्रणाली हामीसँग प्रतिभाशाली महिला सर्जन र ट्रेनीहरुको समूह छ । हामीले यस समूहको नाम ‘वुमेन इन सर्जरी इन नेपाल’ राखेका छौँ । वुमेन इन सर्जरी इन नेपाल ‘डब्लुआइएस’ को उद्देश्य महिला सर्जनहरूलाई व्यक्तिगत र व्यावसायिक जीवनमा सफलता प्राप्त गर्न साहयता गर्नु, प्रोत्साहन गर्नु र उनीहरूलाई आवश्यक सुविधा दिनु हो । डब्लुआइएसले महिला सर्जनहरूलाई अध्ययनको क्रम, फेलोसिप र प्राज्ञिक क्षेत्रमा सहयोग गर्दछ । यस संस्थाले चिकित्सा विज्ञान पढिरहेको छात्राहरूबिच नेटवर्क बनाएर र उनीहरूलाई सही तालिमको पहुँच पुर्‍याएर शल्य चिकित्सा क्षेत्रमा विशेषज्ञता हासिल गर्न मद्दत गर्न कदम चालिरहेको छ । डब्लुआइएसमा हुने नियमित भेटघाट बैठकमा हामी महिला सर्जनहरूले भोग्ने समस्या, चुनौती र अवसरका बारेमा छलफल गर्ने गर्छौँ । हाम्रो संस्थामा सल्लाहकार, सर्जन गरी जम्मा ५० जना क्रियाशील छन् । यो सङ्ख्या समयसँगै बढिरहेको छ ।

भविष्यका सर्जनहरूका लागि सन्देश

तपाईँको इच्छाइएको विषय र कामप्रति प्रेमपूर्ण लगाव हुनु अत्यन्तै जरुरी रहन्छ । तपाईँ आफ्नो व्यक्तिगत जीवन र व्यावसायिक जीवनको बिचमा एक रेखा कोर्नुहोस् । आफ्नो परिवार, बालबच्चा र मनोरञ्जनका लागि पर्याप्त समय छुट्टाउनुहोस् । महिला सर्जनहरूले प्राय आफ्नो व्यावसायिक जीवन अघि बढाउन चुनौतीको सामना गर्छन् । यी अवरोधहरू हटाउन प्रेरणा साथसाथै, दृढ इच्छाशक्ति, गहिरो प्रतिबद्धता र आफूमा सञ्चार कौशलता हुनु आवश्यक पर्दछ । समयसँगै मानिसको मानसिकता बदलिँदै छ । खुसीको कुरा, शल्य चिकित्साको क्षेत्र फराकिलो भइरहेको छ र यस्तो समय पनि आउने छ जहाँ सर्जन हुनेछन् नकि महिला सर्जन, मात्र सर्जन ।

महिला स्वास्थ्य शल्य चिकित्सा सर्जन

लेखक परिचय

डा. सुमिता प्रधान

जी. आइ. सर्जन (पेटरोग शल्य चिकित्सक),
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महराजगंज


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग