Logo

ढाड तथा गर्दन दुख्ने समस्या र समाधानका उपायहरू
हिँड्न, डुल्न तथा उठ्न, बस्न समेत गाह्रो हुने ढाड वा गर्दन दुख्ने समस्या ८० % मानिसहरूलाई जीवनको कुनै न कुनै समयमा हुने गर्छ

डा. दिनेश कुमार थापा  
सोमवार, जेष्ठ ३१, २०७८ मा प्रकाशित

हामी धेरै नेपालीहरूमा ढाड र गर्दन दुख्ने समस्या छ जुन उमेर बढ्दै जाँदा च्याप्दै जान्छ । कसै कसैलाई त हिँड्न, डुल्न तथा उठ्न, बस्न समेत गाह्रो हुन्छ । कुनै मानिसलाई एउटै अवस्थामा लामो समय काम गर्दा पनि ढाड दुख्ने समस्या आउन सक्छ, जस्तै: लामो समयसम्म कार्यालयमा कम्प्युटर अगाडी बसेर गर्ने कामहरू, लामो समय उभिएर गर्नुपर्ने कामहरू, भारी सामान उचाल्नु पर्ने कामहरू आदी । एउटा अध्ययन अनुसार विश्वका करिब ८० % मानिसहरूलाई जीवनको कुनै न कुनै समयमा ढाड दुख्ने समस्याले दुःख दिन्छ ।  हाम्रो जस्तो विकासशील देशमा पनि ढाड दुख्ने समस्याले विकराल रूप लिँदै छ जुन अत्यन्त चिन्तनमय  छ किनभने विकसित देशमा कार्यअसक्षमताको कारण टाउको दुख्ने पछि ढाड दुख्ने समस्या रहेको छ।

ढाड दुख्ने समस्या सामान्यतया ३ किसिमका हुन्छन् : 

  • एक्कासि धेरै दुख्ने (Acute) ,
  • बिस्तारै बढेर जाने (Sub acute) र
  • दुखी रहने (Chronic) ।

ढाड दुखाइका कारणहरू :

१- काम गर्दा वा उठ्दा-बस्दा ढाडको मांसपेशीमा चोट लागेर वा सड्केर – यसले ढाड दुखाइको ९०% ओगट्छ ।
२- मेकानिकल – यस भित्र ढाडको हड्डी खिइएर आउने दुखाई, ढाडको नशा च्यापिएर हुने दुखाई, खुट्टाको लम्बाई नमिलेर हुने दुखाई, ढाडको हड्डी भाँचिएर हुने दुखाई इत्यादि ।
३- सङ्क्रमण – बाथ तथा अन्य ढाड सम्बन्धी सङ्क्रमणहरू
४- अन्य– माथिल्लो वा तल्लो पेटका समस्याहरू, पाठेघरको समस्या, प्रोस्टेटको समस्या, डिप्रेसन आदी ।

गर्दन दुखाइका कारणहरूमा माथि उल्लेखित बाहेक नाक, कान, घाँटी भित्रका समस्याहरू वा रोगहरू समेत हुन सक्छन् ।

रोगको पहिचान :

ढाड, गर्दनको समस्या अनुभवी न्युरो चिकित्सक तथा स्पाइन विशेषज्ञले सिधै पहिचान गर्न सक्छन् । सामान्यतः कुनै रडियोलजिकल जाँच आवश्यक हुँदैन तर समस्याको जटिलता हेरेर चिकित्सकले एक्स रे तथा MRI पनि गराउन सक्छन् ।

समस्या समाधानका उपायहरू :

बिरामी आफैले गर्न सक्ने – दुखाइको लागि तातो वा चिसोले सेक्ने, धेरै कडा वा धेरै कमलो ओछ्यान प्रयोग नगर्ने, धेरै अग्लो सिरानी प्रयोग नगर्ने, टाउकोमा भारी सामान नराख्ने तथा नउचाल्ने,निहुरेर धेर बेर  काम नगर्ने, टुक्रुक्क वा पलेटी कसेर कम बस्ने । दुखाई सहन सक्ने सम्मको काम धन्दा गरी रहने ।

कसरत : यसमा अनुभवी तथा कसरत सिकाउन निपुण मानिसबाट ढाडको कसरत सिकाइन्छ । जसमा तन्काउने, बलियो बनाउने तथा दुखाइको अवस्था हेरी त्यो ठाउँमा करेन्ट लाउने वा सेकाउने गरिन्छ । नशा च्यापिएको अवस्थामा चिकित्सकको सल्लाह बमोजिम नै थेरापी गराउनु पर्दछ, अन्यथा समस्या बढ्न पनि सक्छ । दुखाई धेरै बढेको अवस्थामा सेक्ने बाहेक अरू थेरापी नगर्दा बेस हुन्छ ।
औषधी : छोटो समयको लागि दुखाई कम गर्ने औषधी सेवन गर्न सकिन्छ तर यसको लागी पनि  विशेषज्ञको सल्लाह लिनु  पर्दछ तथा नशा च्यापिएकाहरूको लागी चिकित्सकहरूले विशेष किसिमको औषधी दिन सक्छन्। कहिलेकाहीँ ढाडमा सुई लगाउन पनि सकिन्छ ।
अप्रेसन : यदि जटिल भएको खण्डमा, लामो समय सम्म ढाड दुख्ने समस्यालाई वा नशा धेरै च्यापिएको अवस्थामा विशेषज्ञको सल्लाहमा अप्रेसन पनि गर्न सकिन्छ। ढाडको अप्रेसन नशालाई बचाउन तथा थप च्यापिनबाट बचाउनको लागि गरिन्छ  ।

सामान्यतः अप्रेसन गरेको केही समयमा वा केही दिनमा दुखाई पुरै हराउने गर्दछ तर अप्रेसन पश्चात् केही समय चिकित्सकको निगरानीमा बस्नु बुद्धिमानी हुन्छ। ढाड दुखेर खुट्टा तिर  दुखाई सरेमा, खुट्टा कमजोर हुँदै गएमा, लाटो भएमा वा अचानक खुट्टा नचल्ने भई दिशा पिसाब बन्द भएमा तुरुन्त न्युरो वा स्पाइन चिकित्सकलाई भेट्नु पर्छ। ढाडको तथा घाँटीको नशा च्यापिएको अप्रेसन ठुलो तथा मेजर खालको भए पनि विशेषज्ञद्वारा गरिए ठुलो खालका समस्याहरू सामान्यतः आउँदैनन् । कसै कसैलाई भने रोगको सघनता हेरी पुरै दुखाई नजान सक्ने, दुख्ने हुन सक्ने, झम्झमाउने रही रहन सक्ने हुन सक्छ । ढाडमा नशा च्यापिएको अप्रेसन गर्दा नशामा चोट लाग्ने सम्भावना भए पनि दुइटै खुट्टा कमजोर हुने सम्भावना अत्यन्त: न्यून हुने गर्दछ तसर्थ सम्बन्धित विशेषज्ञ चिकित्सकबाट अप्रेसन गर्नु बुद्धिमत्ता हुन्छ ।

गर्दन ढाड हाड जोर्नी

लेखक परिचय

डा. दिनेश कुमार थापा  

बि एन्ड सि मेडिकल कलेज,  झापा 


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग