Logo

घुँडाको दुखाइ, समस्या र समाधान
उमेरसँगै बढ्दै जाने तर सबै उमेर समूहमा देखिने घुँडा दुख्ने समस्या

डा. अभिषेक न्यौपाने
सोमवार, जेष्ठ ३१, २०७८ मा प्रकाशित

घुँडा दुख्ने समस्या लगभग सबै उमेर समूहमा देखिने स्वास्थ्य समस्या हो जुन उमेरसँगै बढ्दै जान्छ । यसका कारणहरूमा चोटपटक (हड्डी फुट्नु, लीगामेण्ट/मेनिस्कस च्यातिनु अथवा सामान्य मांसपेशी च्यातिनु), हड्डी खिइनु, बाथ रोग, सङ्क्रमणका कारण हुने दुखाई आदि मुख्य रहेका छन् । सामान्य दुखाइमा औषधि, फिजियोथेरापी, नी ब्रेस आदिको प्रयोगबाट निको हुन्छ भने अत्याधुनिके दुखाई र लामो समय सम्म रहिरहने दुखाइका लागी थप जाँच र विशेषज्ञ परामर्श आवश्यक पर्दछ ।

चोटपटकका कारण हड्डी, लीगामेण्ट (जोर्नीहरूमा दुई हड्डीहरूलाई आपसमा जोड्ने वा बाँधेर राखने त्यान्द्राजस्ता मांसपेशी) वा मेनिस्कस (घुँडाको जोर्नीमा रहने कुरकुरे हाड) आदि फुटेको वा च्यातिएको शङ्का भएमा चिकित्सकद्वारा घुँडा जाँच पश्चात्  xray/CT/MRI लगायतका जाँच गराइन्छ र चोटको सघनता अनुसार उपचार पद्धति अपनाइन्छ जसमा अपरेसन नै गर्नुपर्ने अवस्था पनि धेरैमा देखिन्छ । चिकित्सा क्षेत्रमा बढ्दो आधुनिकता सँगै विकसित पद्धतिको प्रयोग घुँडाको शल्य चिकित्सामा हाल अपनाइने गरिएको छ, जसमा सानो प्वाल मात्र पारेर गरिने आर्थरोस्कोपिक सर्जरीमार्फत जोर्नीमा फुटेका हड्डी र च्यातिएका मांसपेशीको सफलता पूर्वक उपचार गरिन्छ । हेलचेक्र्याइँ गरेर विज्ञ चिकित्सकको सल्लाहबमोजिम उचित उपचार नगरेमा कम उमेरमै जोर्नी खिइने समस्या देखा पर्दछ भने दुखाइका कारण सामान्य जनजीविकामै समस्या पैदा हुन पुग्दछ ।

उमेर छिप्पिँदै जाँदा प्राय मानिसमा देखिने समस्या हो घुँडाको हड्डी खिइने रोग । यसबाट बच्न स्वास्थ्य जीवनशैली अपनाउनु अत्यन्त महत्त्वपूर्ण छ साथै खानपानमा विशेष ध्यान पुर्‍याउनु पर्दछ- नियमित शारीरिक व्यायाम, क्याल्सियम/भिटामिन युक्त खाने कुराले घुँडाजस्ता जोर्नी स्वास्थ्य राख्न मद्दत पुर्‍याउँछन् । उमेर ढल्किँदै जाँदा घुँडा सुन्निने, दुख्ने, ओरालो हिँड्दा दुखाई बढ्ने,खुट्टा जोड्दा दुइटा घुँडाको बिचमा दुरी बढ्नु आदि घुँडाको जोर्नी खिइएको लक्षण हुन । यस्ता लक्षण देखिएमा धेरै लामो बाटो हिँडडुल नगर्ने, पलेटी कसेर अथवा टुक्रुक्क नबस्ने र थप समस्या बढ्नु अगावै चिकित्सकको सल्लाह बमोजिम उपचार गराउनपर्छ । यसकालागि सामान्य अपरेसनदेखि घुँडाको जोर्नी फेर्ने सम्मका उपचार पद्धति छन् जसपश्चात् केही जटिलता नआएमा पीडित बिरामीहरू आफ्नो सामान्य जीवनशैलीमा फर्किन सक्छन् ।

घुँडा हाड जोर्नी

लेखक परिचय

डा. अभिषेक न्यौपाने

हाड जोर्नी रोग आवासीय चिकित्सक


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग