Logo

के हो भिडियो एक्स-रे ? किन र कसरी गरिन्छ ?
उच्च फ्रिक्वेन्सीको ध्वनि प्रयोग गरेर शरीर भित्रको अङ्गको प्रत्यक्ष तस्बिर निकाल्ने मेडिकल टेस्ट भिडियो एक्स-रे

डा. आबेश कोइराला
बिहिबार, जेष्ठ २७, २०७८ मा प्रकाशित

भिडियो एक्स-रे एउटा मेडिकल टेस्ट हो, जसले उच्च फ्रिक्वेन्सीको ध्वनि प्रयोग गरेर शरीर भित्रको अङ्गको प्रत्यक्ष तस्बिर निकाल्छ । यसले कुनै हानिकारक विकिरण निकाल्दैन, त्यही भएर यो एकदमै सुरक्षित पनि छ । सुरक्षित भएकै कारण भिडियो एक्स-रे गर्भमा रहेको बच्चा हेर्न पनि प्रयोग हुने गर्छ । भिडियो एक्स-रे जाँच छिटोछरितो, दुखाइरहित र अन्य रेडियोलोजी परीक्षणभन्दा सस्तो पनि हुन्छ ।

मेडिकल छेत्रमा भिडियो एक्स-रेको प्रयोग हुन थालेको करिब ६ दशक भइसकेको छ । नेपालमा पनि यसको प्रयोग प्राय: सबै साना-ठूला अस्पतालमा हुन्छ ।

भिडियो एक्स-रेबाट विभिन्न अङ्गहरूको जाँच गर्न मिल्छ । जस्तै: पेटको गर्दा कलेजो, पित्त थैली, फियो, मिर्गौला, पिसाब थैली, पाठेघर, डिम्ब, प्रोस्टेट अण्डकोष आदि । रगत नली, मांसपेशी, नशा, नवजात शिशुको मस्तिष्क आदि विशेष भिडियो एक्स-रेले जाँच गर्न सकिन्छ ।

एक्स-रे गर्भावस्थामा पनि विशेष प्रयोग हुने गर्छ । पहिलो त्रैमासिकमा पाठेघरभित्र बच्चा बसेको वा नबसेको हेर्न, दोस्रो त्रैमासिकमा अङ्ग राम्रोसँग बनेको वा नबनेको हेर्न र अन्त्यमा बच्चाको अवस्था, साल र पानीको अवस्था हेर्न भिडियो एक्स-रे गरिन्छ । यीमध्ये दोस्रो त्रैमासिकको जाँच सबैभन्दा जरुरी हुन्छ । यो बाहेक भिडियो एक्स-रेलाई बायोप्सी (मासु जाँच गर्न ) पेट तथा फोक्सोमा जमेको पानी निकाल्न पनि प्रयोग गरिन्छ ।

सामान्यतया पेटको भिडियो एक्स-रे गर्न विशेष गरी पित्त थैलीको जाँच गर्न ४-६ घण्टा खाली पेट हुन आवश्यक छ । अन्य भागको भिडियो एक्स-रे गर्न खाली पेट जरुरी पर्दैन । प्रोस्टेट, पाठेघर, डिम्ब र पहिलो त्रैमासिकको गर्भ जाँच गर्दा पिसाब च्यापेको हुनुपर्छ । हात, खुट्टाका नशा या कुनै सुन्निएको भागको भिडियो एक्स-रे गर्न कुनै विशेष तयारी आवश्यक छैन ।

कसरी गरिन्छ त ? यो जाँच गर्न ५-३० मिनेटसम्म लाग्न सक्छ, जुन के जाँच गर्ने हो त्यसमा भर पर्छ । जाँच गर्नु अगाडि जाँच गर्ने भाग देखाएर सजिलोसँग बेडमा बस्नु वा सुत्नु पर्छ र डाक्टरले जाँच गर्ने भागमा जेल लगाएर गर्छन् । जाँच सकिएपछि सफा कपडाले जेल पुछेर आफ्नो दैनिक कममा वा घर फर्किन सकिन्छ ।

 

अल्ट्रासाउन्ड भिडियो-एक्स-रे रेडियोलोजि

लेखक परिचय

डा. आबेश कोइराला

रेडियोलोजिस्ट


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग