Logo

के हो कार्डियाक एरेस्ट ?
कुनै पनि कारणले मुटुको गति रोकिने वा मुटुको रगत पम्प गर्ने कार्य बन्द भई शरीरमा रक्तसञ्चार पूर्ण रूपमा रोकिने अवस्था कार्डियाक एरेस्ट

प्रा.डा. विश्वास प्रधान
आइतवार, असार ६, २०७८ मा प्रकाशित

कार्डियाक एरेस्ट (मुटुको धड्कन बन्द) भन्नाले के बुझिन्छ ?

साधरणतया मुटु प्रति मिनेट ६०–९० को दरले धड्किने गर्दछ । प्रति धड्कनमा मुटुले रगत शरीरको सबै अङ्गमा पुग्ने गरी फाल्ने गर्दछ । यसै रगतले जीवनका लागि अति आवश्यक अक्सिजन तथा अन्य पदार्थहरू विभिन्न अङ्गको कोषसम्म पुर्‍याउँदछ साथै हरेक सेकेन्ड उत्पादन हुने हानिकारक कार्बन डाइअक्साइड तथा अन्य पदार्थहरूलाई अङ्गको कोषबाट जम्मा गरी शरीर बाहिर फाल्न मद्दत गर्दछ । यसमध्ये प्रति मिनेट अक्सिजन अङ्गहरूको कोषमा पुर्‍याउने तथा कार्बन डाइअक्साइड शरीरको कोषहरूबाट फोक्सोको माध्यमबाट शरीरबाट बाहिर फाल्नु मुटुको महत्त्वपूर्ण कार्य हो ।

कुनै पनि कारणले मुटुको गति रोकिन गएमा वा भनौँ मुटुको रगत पम्प गर्ने कार्य रोकिएमा शरीरमा रक्तसञ्चार पूर्ण रूपमा रोकिन्छ । यसै अवस्थालाई कार्डियाक एरेस्ट (Cardiac Arrest) भनिन्छ । कार्डियाक एरेस्ट भएमा बिरामी मृत अवस्थामा पुग्छ तथा अक्सिजन विभिन्न अङ्गमा नपुग्ने हुनाले मस्तिष्क, मुटु साथै अन्य अङ्गहरू पनि क्रमशः मर्दछन् वा निष्क्रिय हुन्छन् । कार्डियाक एरेस्ट (Cardiac Arrest) भएका बिरामीको तुरुन्त उपचार सुरु गर्न सकिएन भने बिरामीको मृत्यु हुन जान्छ ।

कार्डियाक एरेस्ट (Cardiac Arrest) एक तथ्य

विभिन्न अध्ययन अनुसार लगभग ८० प्रतिशत कार्डियाक एरेस्ट अस्पताल बाहिर समुदायमा हुने गर्दछ । उपचारमा प्रत्येक मिनेटको ढिलाइले कार्डियाक एरेस्ट भएको बिरामीको बाँच्ने सम्भावना ७ देखि १० प्रतिशतले कम हुन्छ । समुदायमा Cardiopulmonary Resuscitation (CPR) समयमै गरिएमा यस्तो बिरामीको बाँच्ने सम्भावना ४० प्रतिशतले बढेको देखिन्छ । कार्डियाक एरेस्ट भएको बिरामीलाई तुरुन्तै सही कृत्रिम तरीकाबाट छाती थिचेर र कृत्रिम श्वास प्रश्वास गराएर केही क्षण बचाएर राख्न सकिन्छ । यो प्रक्रियालाई नै ऋएच् भनिन्छ ।

यसको उपचारको लागि के गर्न सकिन्छ ?

कार्डियाक एरेस्ट भएको अवस्थाको जानकारी तथा यसको तत्काल उपचार Cardiopulmonary Resuscitation (CPR) कार्डियोपल्मोनरी पुनरुत्थान तालिम लिएर गर्न सकिन्छ । गैर चिकित्सा क्षेत्रका व्यक्तिहरू जस्तै विद्यार्थी, शिक्षक, खेलकुद प्रशिक्षक, खेलाडी, सवारी चालक, ट्राफिक प्रहरी, पथ–प्रदर्शक, गृहिणी महिला, कार्यालय कर्मचारीहरू आदि तथा चिकित्सा क्षेत्रका व्यक्तिलाई जटिलताको आधारमा दुई किसिमको भिन्न भिन्न तालिम दिइन्छ । कार्डियाक एरेस्ट भएको बिरामीलाई तुरुन्तै सही कृत्रिम तरीकाबाट छाती थिचेर र कृत्रिम श्वास–प्रश्वास गराएर केही क्षण बचाएर राख्न सकिन्छ । यो प्रक्रियालाई नै CPR भनिन्छ । यो प्रक्रिया CPR लाई निरन्तर रूपमा चालु गरेर अस्पतालको एम्बुलेन्स वा चिकित्सकहरूको टोली नआएसम्म बिरामीलाई केही हदसम्म बचाई राख्न सकिन्छ । एम्बुलेन्स आएपछि वा बिरामीलाई अस्पताल पुराए पछि भने यो कार्य चिकित्सकको टोलीले नै गर्नेछन् । यति मात्र नभई अस्पताल पुगेपछि कार्डियाक एरेस्ट का विभिन्न कारण पनि पत्ता लगाउन सकिन्छ र मुटुले पहिलेकै जस्तो काम गर्ने सम्भावना पनि रहन्छ र बिरामीको ज्यान बच्ने सम्भावना हुन्छ ।

यस उपचारको तालिम कसले लिन सक्दछ ?

यस उपचारको तालिम चिकित्सा क्षेत्रमा लागेका तथा गैर–चिकित्सा क्षेत्रका व्यक्तिहरूले लिन सक्छन् । चिकित्सा क्षेत्रका चिकित्सक, नर्स, अहेव आदि सबैले यो तालिम लिइसकेको भएता पनि समय–समयमा आफ्नो ज्ञान बढाउन पुन CPR तालिम लिन सक्दछन् । चिकित्सा क्षेत्रका व्यक्तिहरूलाई भने CPR (Advanced Cardiac Life Support र उन्नत जीवन संरक्षण) तालिम दिइन्छ ।

गैर चिकित्सा क्षेत्रका व्यक्तिहरूले पनि CPR तालिम लिन सक्दछन् । गैर चिकित्सा क्षेत्रका व्यक्तिहरूलाई भने CPR Basic Life
Support (साधारण जीवन संरक्षण) तालिम दिइन्छ । । यस किसिमको तालिमको अवधि ४–६ घण्टाको हुन्छ । विभिन्न अध्ययन अनुसार कार्डियाक एरेस्ट भएको बिरामीलाई अस्पताल बाहिरै एम्बुलेन्स वा चिकित्सा क्षेत्रका व्यक्ति पुग्नु अघि नै CPR (Basic Life support-
BLS/साधारण जीवन संरक्षण) पद्धति सुरु गरिएमा बिरामीको बाँच्ने सम्भावना धेरै नै बढेको देखिन्छ । तसर्थ घटनास्थल (घर, अफिस, खेलकुद, मैदान, बाटो, विद्यालय, पदयात्रा मार्ग, दुर्घटना स्थल आदि) मा नै CPR-(BLS/ साधारण जीवन संरक्षण) पद्धति सुरु गर्न गैर चिकित्सा क्षेत्रका व्यक्तिहरूलाई यो तालिम दिइनु अति आवश्यक छ । किनभने धेरैजसो घटनास्थलमा गैर चिकित्सा क्षेत्रका व्यक्तिहरूले नै पहिलो पल्ट यस्तो घटना देख्छन् । सही तरीकाले CPR (BLS) गरिएमा कुनै एक व्यक्तिको ज्यान बचाउने पुण्य काममा तपाई हामी पनि सहभागी हुन सक्छौँ ।

कार्डियाक एरेस्टबाट कसरी बच्न सकिन्छ ?

कार्डियाक एरेस्ट मुटुको रोग तथा अन्य कारणहरूले हुन सक्दछ । उच्च रक्तचाप, मधुमेह, धूम्रपान, मद्यपान जस्ता कारणले मुटुको रोग सजिलै लाग्न सक्दछ । साथै बढी बोसोयुक्त तथा अस्वस्थ खानाले तौल बढ्न गई मुटुको रोग देखा पर्न जान्छ । यस्तो व्यक्तिहरूलाई हृदयाघात हुने सम्भावना बढी हुन्छ । हृदयाघात भएको बिरामी तथा हृदयको चालमा धेरै नै गडबडी भएमा त्यो कार्डियाक एरेस्ट को कारक बन्न सक्दछ । कतिपय व्यक्तिमा हृदयको चाल बेला बेलामा आफैँ नै गडबड हुने जन्मजात रोग पनि हुनसक्छ । यस्तो रोग पत्ता लगाउन गाह्रो हुन्छ । यस्तो व्यक्ति सानै उमेरमा वा बाल्यकालमा पनि कार्डियाक एरेस्ट को सिकार हुन सक्दछन् । मुटुको चालमा गडबडी भएको थाहा भएमा वा जन्मजात मुटुको रोग भएमा चाँडै नै यसको उपचार गरिएमा बाल्यकालमा हुने कार्डियाक एरेस्टबाट बच्न सकिन्छ ।

कार्डियाक एरेस्ट हुने अरू कारण मध्ये श्वासनलिमा खाना अड्किने पनि हो । यसले गर्दा पनि अकस्मात् रूपमा अक्सिजनको कमी हुने गर्दछ । CPR (BLS) तालिममा श्वास–प्रश्वासमा खाना तथा अरू वस्तु अड्किएमा त्यसलाई निकाल्ने तरिका पनि सिकाइन्छ । तालिममा सहभागीहरूको अनुभव तालिममा सहभागी एक महिला स्वयं सेवकले “साधारण जीवन संरक्षण तालिम अत्यन्तै लाभ दायक रहेको र यस्तो तालिमले आफूहरूले पनि समुदायमा कसैलाई कार्डियाक एरेस्ट भएमा बिरामीको ज्यान जोगाउनलाई पहल गर्न सक्ने” बताए । यस्तै एक तालिम कार्यक्रमका संयोजक वायोस्टाटिस्टीक्सका प्राध्यापक डा. अमिता प्रधानले साधारण जीवन संरक्षण तालिम समुदायमा सबैले लिएमा बिरामीको अमूल्य जीवन जोगिने कुरालाई विशेष जोड दिनुभयो । साथै यस्तो तालिम समय समयमा लिएमा सधैँ स्मरणमा रहने तथ्य जानकारी गराउनुभयो ।

यो तालिम कसरी लिन सकिन्छ ?

नेपाल जीवन संरक्षण प्रतिष्ठान संस्था (Nepal Life Support Foundation) ले यो कार्यक्रम नियमित रूपमा विगत छ वर्ष देखि सञ्चालन गरिरहेको छ । यो तालिम लिनको लागि [email protected] वा 9818555795 मा सम्पर्क गर्न सक्नुहुन्छ । तपाईँको अमूल्य योगदानले नै यो तालिम कार्यक्रम कार्य सम्भव हुन्छ, सहयोग गरौँ, जीवन संरक्षणमा सहभागी बनौँ ।

CPR कार्डियाक एरेस्ट मुटु सिपिआर

लेखक परिचय

प्रा.डा. विश्वास प्रधान

एम्.बि.बि.एस्. , एम्.डी. (एनेस्थेसिया)
अध्यक्ष तथा प्रमुख संयोजक
नेपाल जीवन संरक्षण प्रतिष्ठान संस्था


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग