Logo

सुनाइको समस्या तथा समाधान
जन्मँदै वा जन्म पश्चात् कान नसुन्ने वा सुनाइ कम हुने समस्या तथा समस्याका समाधान

डा. रविन्द्रभक्त प्रधानाङ्ग
आइतवार, जेष्ठ २३, २०७८ मा प्रकाशित

कानको विशेषतः दुई वटा काम हुन्छ, सुन्ने तथा शरीर सन्तुलन राख्ने । कानको भित्री भागमा रहेको “कक्लिया” नै आवाज सुनाउने महत्त्वपूर्ण अङ्ग हो भने “भेष्टिब्यूल” शरीर सन्तुलन गर्ने अङ्ग हो । त्यस कारण भित्री कानमा कुनै समस्या भएमा कान कम सुन्ने÷नसुन्ने तथा चक्कर लाग्ने समस्या हुन्छ । शरीरका अरू अङ्गहरू मानिसको उमेर  वृद्धिसँगै विकसित हुँदै जान्छ तर कक्लिया एउटा यस्तो अङ्ग हो जुन जन्मिँदै पूर्ण विकसित भई वयस्क अवस्थाको सरह हुन्छ ।

मानिसको सुन्ने शक्तिको विकास गर्भावस्थामा नै भइसकेको हुन्छ र जन्मने बित्तिकै सामान्य अवस्थाका बच्चाले सुन्न सक्छन् । गर्भावस्थामा शारीरिक विकासको क्रममा विभिन्न कारणले गर्दा कानका विभिन्न भागको विकास अपूर्ण वा असामान्य भएमा सुनाइको समस्या आउने गर्दछ । जन्मँदै कान नसुन्ने यस्तो अवस्थालाई “कनजेनाइटल हियरिंग लस” भनिन्छ ।

जन्म पश्चात् कुनै पनि समयमा कानमा समस्या भई नसुन्ने अवस्थालाई “एक्वार्ड हियरिंग लस” भनिन्छ । वातावरणको आवाजलाई कक्लियासम्म पुर्याउनमा बाहिरी कान, कानको नली, जाली एवम् स–साना हड्डीहरू (ओसिकल्स) को प्रमुख भूमिका हुन्छ । कानको यी भागमा कुनै खराबी वा समस्या भएमा आवाज कक्लियासम्म पुग्नमा अवरोध हुन्छ जसबाट हुने सुनाइको समस्यालाई कन्डक्टिभ हियरिंग लस भनिन्छ ।

कानको मध्य र बाहिरी भागमा हुने समस्याहरू जस्तै काने गुजी धेरै जम्मा हुनु, कानको सङ्क्रमण हुनु, कानको मध्य भागमा पानी जम्मा हुनु, कानको जाली प्वाल पर्नु, कानका स–साना हड्डीहरू (ओसिकल्स) नचल्नु वा टुक्रिनु जस्ता अवस्थामा कन्डक्टिभ हियरिंग लस हुन्छ ।

पटक–पटक वा सधैँ कान पाक्ने रोग भएमा पनि यस किसिमको सुनाई कम हुने समस्या हुन्छ । कानको नलीमा धेरै काने गुजी छ भने सफा गर्नु पर्छ । कानको सङ्क्रमण छ भने आवश्यक एन्टिबायोटिक दिई उपचार गर्न सकिन्छ । कानको जालीमा प्वाल छ भने टाल्ने शल्यक्रिया–माइरीङगोप्लाष्टि गर्नुपर्छ । कानको मध्य भागमा पानी जम्मा भएमा पानी निकाल्ने वा औषधि उपचार गरिन्छ भने असिकल्स टुक्रिएको छ भने अरू साना हड्डी राखेर वा अरू प्रोश्थेसिस राखेर असिकुलोप्लाष्टि गरेर सुनाई राम्रो बनाउन सकिन्छ ।

 

भित्री हड्डी (स्टेपिज) नचल्ने रोग (अटोस्क्लेरोसिस) भएमा नचलेको हड्डी हटाएर कृत्रिम हड्डी राख्ने शल्यक्रिया स्टेपेडेटोमिगरेर सुनाइमा सुधार ल्याउन सकिन्छ । शल्यक्रियाबाट सुधार गर्न नसक्ने वा नचाहने व्यक्तिका लागि श्रवण यन्त्र (हियरिंग एड) वैकल्पिक उपाय हो ।

कानको भित्री भाग कक्लिया वा कक्लियाबाट दिमागसम्म जाने नशा (कक्लियर नर्भ)मा समस्या भएर सुनाई कम हुने अवस्थालाई सेन्सरी न्यूरल हियरिंग लस भनिन्छ । गर्भावस्थामा आमामा हुने सङ्क्रमण, औषधिको सेवन वा अन्य कारणबाट भित्री कानको पूर्ण विकास नहुनु, प्रसव अवस्थामा हुने समस्या, जन्मिने बित्तिकै अक्सिजनको कमी, सङ्क्रमण, जन्डिस जस्ता समस्याले पनि नवजात शिशुमा यस किसिमको सुनाइको समस्या हुन सक्छ ।

जन्मजात हुने कनजेनाइटल सेन्सरी न्युरल हियरिंग लसका बाहेक जीवनमा धेरै कारणले यस्ता समस्या हुनसक्छ । तीमध्ये उमेर ढल्किँदै गएपछि भित्री कानले काम गर्न नसक्ने भई

सुनाइ कम हुने अवस्था“प्रेसबाइअकुसिस” धेरैमा देखिन्छ । यस बाहेक भित्री कानको सङ्क्रमण, ट्युमर, प्रेसर बढ्नु वा कक्लियर नर्भमाट्युमर पलाउनु जस्ता अवस्थामा यस किसिमको सुनाइको समस्या हुन्छ । अन्य सङ्क्रमण जस्तै मेनिनजाइटिस, हाडे, टाइफाइड, दादुरा, ठेउला जस्ता रोगले पनि यस्तो समस्या आउन सक्छन् । कुनै कारणबिना पनि एक्कासि कक्लियाले काम गर्न छाड्छ जसलाई “सडेन सेन्सरी न्यूरल हियरिंग लस” भनिन्छ । यो रोग भाइरसको कारणले भएको अनुमान गरिएको छ । यस किसिमको रोग एकदमै इमर्जेन्सी अवस्था हो र सकेसम्म चाँडो यसको उपचार सुरु गर्नुपर्छ नत्र सदाको लागि कान नसुन्ने हुन सक्छ । यस किसिमको समस्या भएमा सामान्य शल्यक्रिया वा औषधिको सेवनबाट फाइदा हुँदैन ।

सडेन हियरिग लस छ भने मात्र स्टेरोइड औषधि समयमा नै सुरु गर्दा सुनाई पुन सामान्य हुनसक्छ । यस्तो अवस्थामा आवश्यक सम्पूर्ण परीक्षण गरी आंशिक समस्या भएकाको लागि श्रवण यन्त्र (हियरिंग एड) वा पूर्ण रूपमा सुनाइ गुमाएकाहरूका लागि कक्लियर ईम्प्लान्टको प्रयोग गरी राम्रो सुन्न सक्ने बनाउन सकिन्छ । सेन्सरी न्युरल हियरिंग लस भएकाहरूमा कान बज्ने तथा चक्कर लाग्ने समस्या पनि हुन सक्छ ।

अतः सुनाइमा समस्या भएमा वा चक्कर लागेमा कानका डाक्टरसँग समयमा नै परामर्श लिई सही समाधानका उपायहरू अपनाऔँ ।

कान सुनाइ

लेखक परिचय

डा. रविन्द्रभक्त प्रधानाङ्ग

नाक, कान, घाँटी रोग विशेषज्ञ,
मध्यपुर अस्पताल, मध्यपुर ठिमी भक्तपुरमा कार्यरत


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग