Logo

गर्भावस्थामा दन्त समस्या
गर्भावस्थामा मुखमा आउने समस्याहरू, उपचार र गर्भावस्थामा एक्स–रे

डा. दिपेश अधिकारी
आइतवार, असार ६, २०७८ मा प्रकाशित

“गर्भावस्थामा अत्यावश्यक बाहेकका दन्त उपचार गर्न सकिन्छ भने दाँतमा तार बान्ने, दाँत चम्किलो बनाउने, नक्कली दाँत राख्ने, जटिल र लामो समय लाग्ने उपचारहरू सकेसम्म गर्भावस्था सकिसकेपछि गर्नु पर्दछ ।” 

गर्भावस्थाको समयमा महिलामा एउटा नयाँ जीवनको विकासका साथै शरीरमा विभिन्न शारीरिक परिवर्तनहरू सिर्जना हुन्छ । महिलामा गर्भावस्थामा शरीरभित्र हमोर्न को मात्रामा उतार–चढाव आउँछ । जसको कारणले शरीरको विभिन्न भागमा असर पुराउँछ । त्यसमध्ये एक दाँत तथा मुख सम्बन्धी स्वास्थ्य पनि हो । यही कारणले गर्दा महिलाहरूले यो समयमा आफ्नो दाँत तथा मुखको स्वास्थ्यको हेरविचारमा ध्यान पुर्‍याउनु पर्ने हुन्छ । दन्त चिकित्सकले मुख तथा गिजामा आउने समस्याहरूको समाधान गर्ने र समस्यालाई जटिल हुन नदिन रोकथामका उपायहरू प्रदान गर्ने भएकाले यस्तो समयमा उनीहरूसँग परामर्श लिनुपर्दछ ।

गर्भावस्थामा मुखमा आउने समस्याहरू

गर्भावस्थामा विभिन्न कारणहरूले गर्दा मुख र मुखको विभिन्न भागहरूमा केही परिवर्तनहरू आउँछन् ।

गिजा सुन्निने

गर्भावस्थामा शरीरमा प्रोजेस्टेरोन (progesterone) र स्ट्रोजेन (estrogen) हमोर्न हरूको मात्रा वृद्धि हुने गर्दछ र ती हमोर्न हरूको उतारचढावले गर्दा गिजा सुन्निने गर्दछ ।

दाँत किराले खानु

आहारमा आउने परिवर्तन जस्तै, खानाको तृष्णा बढ्ने र गर्भावस्थामा धेरै गुलियो पदार्थ खानाले दाँतमा किरा लाग्ने सम्भावना बढी हुन्छ ।

पायोजेनिक ग्रानुलोमा (pyogenic granuloma)

यो गिजाका बाहिरी भागमा आउने एउटा रातो गोलो प्रकारको डल्लो हो, जसलाई बिस्तारै छुँदा पनि धेरै रगत निस्कन्छ । यो समस्या पनि माथि उल्लेखित हमोर्न को मात्रा नमिल्दा उत्पन्न हुन्छ । यो सामान्य हो र बच्चा जन्मिसकेपछि यो समस्या आफैँ हराएर जान्छ ।

दाँत खिइनु

गर्भावस्थामा बिहानीपख हुने वाकवाकले गर्दा दाँतको केही भागको इनामेल खिइन्छ । यस्तो अवस्था हुन नदिन वाकवाकी हुँदा आउने अमिलो पानी हटाउन नुन पानीले कुल्ला गर्नु राम्रो हुन्छ ।

गर्भावस्थाका अवधिहरू र दन्त उपचार

गर्भावस्थाको अवधिलाई तीन भागमा विभाजन गर्न सकिन्छ र सो समयमा दाँतको विभिन्न समयहरूमा समस्याहरू देखा परेमा कुन उपचार गर्न मिल्छ र कुन मिल्दैन भन्ने थाहा पाउन जरुरी हुन्छ ।

क. पहिलो त्रैमासिक (१–१२ हप्ता) 

यो समयमा बच्चाको अङ्गहरू बनिरहेको हुन्छ । यस्तो अवस्थामा अनावश्यक हस्तक्षेपले गर्भपतन गराउन सक्छ । सोही कारणले गर्दा यस अवधिमा अत्यावश्यक बाहेकका अरू दन्त उपचारहरू प्रायः गरिँदैन ।

ख. दोस्रो त्रैमासिक (१३–२४ हप्ता) 

यो समयलाई अरू दुई समयभन्दा सुरक्षित मानिन्छ र दाँत सम्बन्धी संरचनाको उपचार गर्ने गरिन्छ । जस्तै: दाँत निकाल्ने, भनेर, जरैदेखि ख उपचार गर्ने जस्ता उपचारहरू पर्दछन् । यस्ता उपचारहरू जोखिमका साथ गर्न सकिन्छ ।

ग. तेस्रो त्रैमासिक (२५–४० हप्ता) 

यो समयमा आमालाई दन्त उपचारको लागि उपचार कक्षमा आवश्यक स्थानहरू लिन सजिलो हुँदैन । बच्चा गर्भमा हुर्किसकेको हुन्छ र बच्चा जन्माउने समय हुन लागेको हुन्छ । यदि एक गर्भवती महिलालाई यो समयमा दन्त कुर्सीमा धेरै लामो समयसम्म ढाड पट्टी थिचेर राखियो भने गर्भमा अवस्थित बच्चाको वजनले आमाको शरीरको महत्त्वपूर्ण ठुलो धमनी (inferior venacava) लाई थिच्छ र जसले गर्दा आमाको मुटुमा कम रगत पुग्न गई अन्ततः बच्चामा पनि कम रगत पुग्छ र पेट भित्रको बच्चालाई असर हुन सक्दछ । यसैले  गर्दा  यो समयमा दन्त उपचार गर्नै  परेमा  आमालाई  अर्ध  ढलन तरिकाले बायाँपट्टि पल्टाई उपचार गर्नु पर्दछ ।

 

गर्भावस्था र एक्स–रे

गर्भावस्थामा एक्स-रे गर्नाले गर्भपतन, जन्म दोष तथा मानसिक अशक्तता गराउन सक्छ । सोही कारणले गर्दा एक्स-रे गराउनु अघि गर्भवती र पछिल्लो महिनावारी सम्बन्धी जानकारी लिनुपर्दछ । केही कारणले गर्दा एक्स-रे गर्न अत्यावश्यक परेमा विभिन्न उपयुक्त सावधानी अपनाएर चिकित्सक वा सम्बन्धित सँग सल्लाह लिएर मात्र गर्नु पर्दछ । गर्ने परेमा जस्तै घाँटीदेखि तलको भागमा लिडको कबज (lead shield) लगाउन सकिन्छ ।

रोकथामका उपायहरू

  • गर्भवती महिलालाई गर्भावस्थामा मुखमा आउने परिवर्तनको ज्ञान र त्यसबाट बच्ने उपायहरूको जानकारी दिनु पर्दछ ।
  • नियमित रूपमा दिनको दुई पटक दाँत माझ्ने, डेन्टल फ्लसको प्रयोग गरी दाँतको बिचमा रहेको खाना निकाल्ने र गिजा सुन्निएमा मनतातो पानीमा थोरै नुन राखी कुल्ला गर्ने ।
  • गुलियो कुराहरू धेरै नखाने र खाइसकेपछि सफा पानीले कुल्ला गर्ने ।
  • चुरोट, रक्सीको सेवन नगर्ने ।
  • प्रशस्त मात्रामा फलफूल र सागसब्जी तथा माछा मासु र क्याल्सियम भएको खानेकुराहरू खाने ।
  • गर्भावस्थामा अत्यावश्यक बाहेकका दन्त उपचार नगर्ने । जस्तै दाँतमा तार बान्ने, दाँत चम्किलो बनाउने, नक्कली दाँत राख्ने, जटिल र लामो समय लाग्ने उपचारहरू नगर्ने । यस्ता उपचारहरू गर्नु परेमा गर्भवती सकिसकेपछि गर्न सकिन्छ ।
  • दाँत सम्बन्धी कुनै औषधि खानु परेमा दन्त चिकित्सकको परामर्शमा मात्र खाने गर्नुपर्छ ।

 

गर्भावस्था दाँत महिला स्वास्थ्य सुत्केरी

लेखक परिचय

डा. दिपेश अधिकारी

दन्तरोग विषेशज्ञ


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग