Logo

के हो दाह्रा, किन आउँछ ?
किन दाह्रा पलाउँछ ? दाह्राको असर, उपचार तथा समाधान

डा. बिकेन श्रेष्ठ
शुक्रबार, असार ४, २०७८ मा प्रकाशित

मानिसको जीवनमा दुई पटक दाँत पलाउँछ । सानोमा आउने दाँतलाई दूधे दाँत भनिन्छ भने दूधे दाँत फेरिएपछि स्थायी दाँत पलाउँछ ।

मानिसका दाँत फरक फरक बनावटका हुन्छन् र ती हरेक दाँतका कार्य पनि फरक-फरक हुन्छन् । अगाडिका दाँतलाई इन्साइजर भनिन्छ । कुनापट्टिकोलाई कनाइन अथवा कुकुर दाँत भनिन्छ । खाना चपाउने ठुलो दाँतलाई खाने दाँत अथवा ठुलो बङ्गारा भनिन्छ । कुकुर दाँत र ठुलो बङ्गाराको बिचमा सानो बङ्गारा अथवा प्रि-मोलार दाँत हुन्छन् । कुकुर दाँत अथवा कनाइन दाँत गालापट्टि पलाएर हाँस्दा ठुलो कुकुर दाँत देखिनुलाई सामान्य भाषामा दाह्रा आएको/पलाएको भनिन्छ ।

किन दाह्रा आउँछ/पलाउँछ ?
स्थायी दाँतको पलाउने समय फरक-फरक हुन्छ । सुरुमा पहिलो ठुलो बङ्गारा पलाउँछ । त्यसपछि अगाडिको इन्साइजर पलाउँछ । सानो बङ्गारा पलाएपछि कुकुर दाँत सामान्यतः ढिलो पलाउँछ । कुकुर दाँत उम्रिन सुरु गर्दा यसको ठाउँ धेरै माथि हुन्छ र यो मुखमा पलाउने पनि लामो बाटो भएर निस्किनु पर्छ । यदि अरू दाँत पलाइसके पछिसम्म कुकुर दाँतलाई ठाउँ नपुगेमा अथवा दाँत धेरै बाङ्गाटिङ्गा आएको छ भने पछि आउने कुकुर दाँतलाई स्थान अभाव भएमा सो दाँत दाह्रा भई पलाउने अथवा भित्र तालुपट्टि पलाउने अथवा आउँदै नआउने सम्भावना रहन्छ ।

दूधे कुकुर दाँत समयमै नझरेमा/रहिरहेमा पनि पछि आउने स्थायी कुकुर दाँतलाई स्थान अभाव भई दाह्रा भई पलाउन सक्छ ।

दाह्राको असर
दाह्रा पलाउँदा मुख्यतया: व्यक्तिको सुन्दरतामा असर पर्छ । खुलासँग हाँस्न र बोल्न पाइँदैन अथवा अप्ठेरो लाग्न सक्छ । त्यसैले मुख छोपेर हाँस्नु पर्ने हुन्छ । यसले गर्दा समग्रमा व्यक्तिलाई मानसिक असर पर्न जान्छ । मानसिक रूपमा पनि आफूलाई कमजोर छु भन्ने पर्न जान्छ ।

दाह्राको उपचार तथा समाधान
आफ्नै वरपर तथा नाम चलेका कलाकारहरूमा पनि दाह्रा आएको देखिन्छ । कसैलाई दाह्रा भएको हाँसो पनि मन पर्ला । तर धेरैलाई दाह्राले गर्दा आफू नराम्रो छु भन्ने लाग्छ । नजानेर दन्त चिकित्सककहाँ दाह्रा निकाल्न जाने हुन्छन् । तर दाह्रा आएमा झिक्ने हैन बरु ब्रेसस लगाएर दाँत मिलाउन सकिन्छ, जसलाई ओर्थोडोन्टिक उपचार भनिन्छ ।

ओर्थोडोन्टिक उपचार दन्त चिकित्साको एक स्पेसलाइज्ड विधा हो । साढे पाँच वर्षको पढाइपछि दन्त चिकित्सक बनिन्छ भने अरू तीन वर्षको अध्ययनपछि बाङ्गाटिङ्गा दाँतको उपचार गर्ने विशेषज्ञ ओर्थोडेन्टिस्ट तयार हुन्छन् जो ओर्थोडोन्टिक उपचार गर्न नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका हुन्छन् ।

स्वस्थ र आकर्षक मुस्कानको लागि हाम्रो मुखमा अगाडिको इन्साइजरको साथै कुकुर दाँतको पनि महत्त्वपूर्ण योगदान रहन्छ । कुकुर दाँत नहुँदा व्यक्तिको मुस्कान त्यति आकर्षक हुँदैन । अझ बुझ्नु पर्ने कुरा के छ भने कुकुर दाँत हाम्रो मुखमा भएका सबैभन्दा लामो जरा हुने दाँत हो। त्यसैले यो अति बलियो हुन्छ ।

बुढेसकालमा सबै दाँत झर्दै जाँदा पनि कुकुर दाँत बाँकी रहन्छ जसको मद्दतले कृत्रिम दाँत लगाउन सहयोग पुग्छ । अतः कुकुर दाँतको महत्त्व बुझ्नु जरुरी छ र दाह्रा पलाएमा ओर्थोडोन्टिस्टकहाँ गई दाँत मिलाउने उपचार गराउनु वाञ्छनीय हुन्छ ।

ओर्थोडोन्टिक्स दाँत दाह्रा

लेखक परिचय

डा. बिकेन श्रेष्ठ

बि.डी.एस्. , एम्.डी.एस्. , पि.एच्.डी. (ओर्थोडोन्टिक्स),
कन्सल्ट्यान्ट ओर्थोडेन्टिस्ट, वीर अस्पताल


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग