Logo

जाडोमा छाला कसरी जोगाउने ?
जाडोमा मौसममा हुने छालाका विभिन्न समस्याहरू र छाला जोगाउने उपायहरू

डा. विकास पौडेल
शुक्रबार, जेष्ठ २८, २०७८ मा प्रकाशित

जाडो मौसममा छालामा विभिन्न समस्याहरू देखिन्छन् । धेरै जसो मानिसलाई यो मौसममा छाला सुख्खा हुने, हात-खुट्टाहरूको छाला फाट्ने, औँलाहरू नीलो हुने, रातो भएर सुन्निने र घाउ हुने, जस्ता समस्याले सताउँछ। जाडोको बेलामा नै विभिन्न किसिमका एलर्जीहरू पनि बढ्छन् ।कसै कसैलाई चिसोकै एलर्जी पनि हुन्छ । यो बेलामा घाम प्यारो हुनेभएकोले चाया पोतो पनि बढ्छ । यसका साथै स्क्लेरोडर्मा(Scleroderma), कत्ले रोग (सोरायासिस)  जस्ता रोगले झन् च्याप्छन् । यस लगायत घाउ, खटिरा, दाद, लुतो पनि जाडोकै मौसममा नै बढ्छन् ।

शरीरको जुन भाग कपडाले ढाकेको हुँदैन प्रायः ती भागको छाला सुक्खा हुन्छन् । अनुहार, हात, पैताला, ओठ, घुँडाभन्दा तल्लो भागको छाला धेरै नै सुख्खा हुन्छ । कुनै व्यक्तिमा त झनै सम्पूर्ण शरीरको छाला सुख्खा भए र माछाको कत्लाजस्तो देखिन्छ र यो कत्तिमा वंशाणुगत पनि हुन्छ ।

मधुमेह, उच्च रक्तचाप, थाइरोइडको समस्या, विभिन्न भिटामिनको कमी भएकाहरूमा छालाको समस्या जाडोमा झन् बढेको पाइन्छ । यसले बच्चा र वृद्धमा धेरै समस्या उत्पन्न गर्छ। यी बाहेक रक्त अल्पताका बिरामी, मुटु रोगको, किड्नी रोगको औषधि प्रयोग गर्नेहरूको छालामा त अझ बढी समस्याहरू देखिन्छन् ।

जाडोमा छाला जोगाउने उपायहरू

छाला सुख्खा हुनबाट जोगाउन नियमित मोइश्चराइजरहरु प्रयोग गर्नुपर्छ । घरैमा उपलब्ध हुने नरिवलको तेल, जैतुनको तेल, पेट्रोलियम जेली वा तेल, भ्यासलिन आदिको नियमित प्रयोग गर्नु उचित हुन्छ । नुहाउँदा, हात धुँदा तातो पानीको प्रयोगले छालाको नमि पखाल्ने हुनाले यसको सट्टा मनतातो पानी प्रयोग गर्नुपर्छ ।  नुहाउने समय सकेसम्म छोटो बनाउनुहोस्, कोमल, सुगन्ध-रहित (Fragrance free) क्लीन्जरले धुनुहोस् । नुहाइसके पछि पनि मोइश्चराइजर प्रयोग गर्नुहोस् । मलहम, क्रिम, र लोसन (मोइश्चराइजर) ले तपाईँको छालामा ओसलाई कायम राख्दछ ।लोसनको सट्टाको क्रिम प्रयोगको अझै लाभदायक हुन्छ ।

चिसोबाट अनुहारलाई जोगाउनुहोस् । मास्कको प्रयोग गर्नुहोस्।ओठमा लिप बाम (Lip-balm) लगाउनुहोस् । केवल कोमल, गन्ध रहित छाला हेरचाहका उत्पादनहरू प्रयोग गर्नुहोस् । अनावश्यक  रसायनहरू कम भएका वस्तु मात्र प्रयोग गर्नुहोस् । रसायनयुक्त क्रिमहरूले संवेदनशील छालालाई झन् बिगार्न सक्छन् ।

जाडोमा उनबाट बनेको बाक्लो लुगा लगाउँदा शरीर सुक्खा भएर झनै चिलाउँछ । त्यसैले , सुतीको पातलो लुगा लगाएर मात्र बाहिरबाट उनीको लुगा लगाउनु उचित हुन्छ ।

यदि तपाईँलाई बारम्बार हात धुने स्यानिटाइजरको प्रयोग गर्नु हुन्छ भने, यसले तपाईँको हात झनै सुकाउँदछ । यसको लागि चर्म रोग विशेषज्ञहरूको सल्लाहहरूले लिन सकिन्छ ।

जाडोमा धेरै बाहिर नजानुहोस् । खुला आगो वा अन्य ताप स्रोतको अगाडि बस्नाले तपाईँको छाला सुख्खा हुन सक्दछ । सकिन्छ भने सम्पूर्ण कोठा न्यानो बनाउनुहोस् ।

घामको विकिरणबाट जोगिन जाडो मौसममा पुरा शरीर ढाकिने पहिरन लगाउनु पर्दछ । चाया पोतोलाई आउन नदिन धेरै बेर घाममा बस्नु हुन्न र विशेषज्ञको सल्लाहमा दिनको दुई–तीन पटक सनस्क्रिन प्रयोग गर्नुपर्दछ ।

पन्जाको प्रयोगले हातखुट्टा नीलो हुन पाउँदैन र यसले स्क्लेरोडर्मा वापर्नियोसिस जस्ता रोगबाट बचाउँछ ।

यति मात्र नभई प्रशस्त मात्रामा पानी पिउनाले, फलफूल र साग सब्जी खानाले पनि सुक्खा छालाको समस्या समाधानमा मद्दत हुनसक्छ । चुरोट र रक्सीको सेवनले समेत छालामा विभिन्न समस्या आउने तथा छाला सुख्खा हुने हुँदा, यसको सेवन उचित होइन ।

छाला सुक्खा हुने र फुट्ने क्रम रोकिएन र कुनै समस्या भएमा आफूलाई पायक पर्ने छाला रोग विशेषज्ञसँग परामर्श गरेर उपचार गराउनुहोस् ।

छाला जाडो

लेखक परिचय

डा. विकास पौडेल

छाला रोग विशेषज्ञ
उपप्राध्यापक, नेसनल मेडिकल कलेज


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग