Logo

कोरोना पछीको मानसिक असर
कोभिड पछि नेपाली समाजमा मानसिक असर कस्तो परेको छ, विषयमा मनोरोग विशेषज्ञ डाक्टरसँग कुराकानी

डाक्साब
सोमवार, असार ७, २०७८ मा प्रकाशित

सामान्य दैनिकी कोभिड सुरु भएसँगै एकाएक फेरियो । व्यापार व्यवसाय, काम कार्यालय सबै ठप्प भए । भेटघाट, घुमघाम सबै रोकिए । मानिस एक्ला एक्लै हुनु पर्ने बाध्यात्मक वातावरण बन्यो । रोजगारी गुम्यो, व्यापार व्यवसाय गुम्यो । कतिलाई त कोभिड सङ्क्रमण नै भयो । सङ्क्रमणले एकै परिवारका धेरै सदस्यले ज्यान गुमाउने अवस्था समेत आयो । यसले सामान्य नागरिकलाई पनि मानसिक रूपमा कमजोर तुल्यायो । कोभिड पछि नेपाली समाजमा मानसिक असर कस्तो परेको छ भन्ने विषयमा मनोरोग विशेषज्ञ डा रितेश थापाले डाक्साबसँग गरेको कुराकानीको सम्पादित अंश :

कोभिडका मानसिक असर

कुनै पनि महामारी आउँदा त्यसले शारीरिक मात्रै होइन मानसिक असर पनि ठुलो हुन्छ । यस अघिका महामारीमा पनि त्यो धेरै देखिएको थियो । कोरोना महामारीमा त यसको अवस्था भयावह नै रह्यो । यो नयाँ रोग भन्दा साथ मानिसहरू त्रसित भए । यसका बारेमा अनेक विचारहरू प्रवाह हुन लागे । कोरोनाका विषयमा आएका कुन कुरा सही, कुन कुरा गलत भन्ने आम नागरिकले सजिलै बुझ्न सक्ने अवस्था थिएन । अनि यही बिचमा लामो समय लकडाउन भयो ।

एउटा घर र कोठा भित्रै लामो समय थुनिनु पर्छ भन्ने कसैले कल्पना गरेको हुँदैन । रोग आफैँमा अनपेक्षित हुन्छ भने त्यसपछि सिर्जना हुने वातावरणले मानिसले मानसिक रूपमा प्रभाव पार्छ । यसअघि नदेखिएको रोग र यसको असरबाट विश्वमा दैनिक लाखौँमा सङ्क्रमण र निधनको समाचारले मानिसलाई दुबिधा बढायो । के गर्ने, नगर्ने भन्ने दुबिधाले मानिसहरूको निद्रामा असर पुग्न थाल्यो ।  डर चिन्ता थपियो । लकडाउनमा घरभित्रै सीमित हुँदा नियमित तालिकामा असर पर्‍यो, यसले व्यक्तिगत जीवन मात्र नभई आर्थिक सामाजिक रूपमै असर पार्‍यो  । मानिसहरू नियमित काममा जाने, घुमघाम, भेटघाट, मनोरञ्जन सबै रोकिए । एक हिसाबले मानिसलाई मानसिक रूपमा स्वस्थ रहन हुनु पर्ने स्वास्थ्य इन्डेक्सहरू नै रोकिए । त्यसले व्यक्तिहरूमा मानसिक असरहरू देखिन थाले ।

पोस्ट कोभिड एन्जाइटी

अहिले पोस्ट कोभिड ऐन्जाइटीहरु देखिन थालेको छ । सङ्क्रमणको डाटा घटेको छ । सरकारले सार्वजनिक गर्ने भनेको सङ्क्रमितसँग सम्बन्धी डाटा मात्रै हो । हाम्रो समाजमा एक पटक कोरोना सङ्क्रमित भइसकेपछि फेरि दोहोरिनेको सङ्ख्या निकै कम छ । तर आफूलाई कोरोना दोहोरियो भन्ने भय हुने धेरै छन् । सङ्क्रमित हुँदा परिवार र समाजबाट भोगेको विभेदले धेरैलाई मानसिक असर पुर्‍याएको छ । सङ्क्रमण रिपोट नेगेटिभ आएको महिनौँ बितिसक्दा पनि केही व्यक्तिहरू अहिले पनि आफू कोरोना सङ्क्रमित छु कि भन्ने भयले परीक्षणका लागि ल्याब पुग्ने गरेका छन् ।

घर परिवारका सदस्यलाई सामान्य रुघाखोकी जस्ता समस्या देखियो भने कोरोना हो कि भन्ने सोचेर आफूले भोगे जस्तो व्यवहार तिनीहरूमा देखाउँछन् । शारीरिक रूपमा कोभिड नेगेटिभ आइसकेपछि पनि केही समय अन्य समस्याहरू देखिन्छन् । तिनीहरूको उपचार छ तर मानसिक रूपमा नै जे भए पनि आफूलाई कोभिड छ भन्ने सोच्न अवस्थामा कतिलाई पुर्‍याएको छ ।

पारिवारिक रूपमा यसको असर

कोभिड पछि परिवारको कोही सदस्यमा कोरोना देखिएको थियो भने त्यसको परिवारका अन्य व्यक्तिमा  सङ्क्रमण नभएको अवस्थामा पनि मानसिक रूपमा आफू सङ्क्रमित छु कि भन्ने त्रास हुने रहेछ, सङ्क्रमित व्यक्ति निको भइसक्दा पनि परिवारका कोही सदस्यलाई अझै डर लागिरहने, सामान्य स्वास्थ्य समस्या देखियो भने पनि कोभिड हो कि भनेर बढी चिन्तित हुने समस्या देखिन्छन् त्यसबाहेक एक पटक सङ्क्रमित भएको व्यक्ति सङ्क्रमण मुक्त भइसक्दा पनि पटक पटक चेक गराइरहने, कोभिडकै मात्रै कुराहरू गर्न खोज्ने, परिवारका सदस्यलाई कोभिड परीक्षण गर्न लगाउने जस्तो केही समस्याहरू देखिएका छन् । यसले परिवारमा नैरश्यता, मानसिक तनाव थपिने समस्या देखिएका छन् । साथै कोरोना सङ्क्रमितले सुरुवाती चरणमा समाजमा भोगेको विभेदले दीर्घकालीन मानसिक असर पारेको हुन सक्छ । साथै व्यापार व्यवसायी, रोजगारी गुमेका छन्, यसले जीवनमा केही फरक पारेको छ ।

उपचार के हो ? कसरी गरियो ?

पहिले मानिसलाई कोरोना के हो, कसो हो भन्ने जिज्ञासा थियो ।  त्यसका लागि सञ्चार माध्यमबाट आउने अनेक सूचनाहरूले मानिसहरू दोधारमा परे कोहीले केही  हुँदैन  भन्ने कोहीले  हुन्छ भन्ने कोहीले  के खाने भन्ने कोहीले  के नखाने भन्ने भ्रम फलाइयो। मानिसले सही सूचना नपाउँदा एन्जाइटी भएको थियो । त्यो समयमा सामाजिक सञ्जाल कम प्रयोग गर्नुस् , अनावश्यक समाचार नहेर्ने शारीरिक व्यायाम, यागे ध्यान गर्नुस् भन्ने सल्लाह हुन्थ्यो। अहिले पोस्ट कोभिड एन्जाइटी भएको बिरामी धरै हुनहुन्छ ।

उहाँहरूले नियमित स्वास्थ्यकर खानपान, नियमित काम धन्दा, पारिवारिक भटे घाट, घुमघाम गर्नु नै यो कोरोनाले मानिसक रूपमा असर पुर्‍याएकाहरूका लागि पहिलो सुझाव हो । त्यस बाहेक चिकित्सकको परामर्श, काउन्सीलिङ, साइकाथेरोपी नै हो । पहिलो कुरा फिजिसियनलाई देखाउन पर्‍यो  शारीरिक रूपमा समस्या देखिएन तर आफूलाई बिरामी छु भन्ने लाग्छ भने मनोरोग विशेषज्ञ जानु पर्‍यो । त्यसपछि काउन्सीललिङ थरोपीबाटै पनि उपचार सम्भव छ । यदि एन्जाइटीले लबेल बढिसकेको छ भने त्यस्तो बलोमा चिकित्सकको परामर्श र निगरानीमा औषधी चलाउनुपर्छ ।

यस्ता व्यक्तिलाई परिवारले कसरी सहयोग गर्ने

मानसिक समस्या भोगिरहेका व्यक्तिलाई उनीहरूको अवस्था अनुसार परिवारले व्यवहार गर्नुपर्छ । उनीहरूसँग वादविवाद गर्ने, दबाब दिने गरियो भने यसले अर्को समस्या निम्तिन सक्छ, त्यसैले उनीहरूको कुरा सुनिदिने, राम्रा सूचना समाचारहरू सुनाउने, पारिवारिक भेटघाट घुमघाममा व्यस्त गराउने, नकारात्मक सोच्न समय नै नदिने, साथै नियमित स्वास्थ्यकर आहार विहारसँग योग ध्यान र शारीरिक व्यामहरू गराउने नै हो । यसले सामान्य समस्या देखिएका अधिकांश मानसिक समस्याहरू समाधान हुन सक्छन् । त्यस बाहेक मनोपरामर्शदाता तथा चिकित्सकहरूसँग नियमित परामर्श गरिराख्दा  अस्पताल लैजानु पर्ने समय तथा औषधी चलाउनु पर्ने समय भयो भने पनि समयमै उपचार हुन सक्छ ।

सामाजिक सञ्जालको मानसिक प्रभाव

मानिस मानसिक रूपमा तन्दुरुस्त रहनका लागि सबै कुराहरू ब्यालेन्समा हुन जरुरी छ । विश्व समुदायसँगै नेपालमा मौलाएका सामाजिक सञ्जालको ट्रेन्डलाई सही प्रयोग गर्न नसक्दा दुर्घटनाहरू पनि निम्तिएका छन् । अहिले मानिसका दुई रूप हुन्छन् । सामाजिक सञ्जालमा देखिने रूप र वास्तविक जीवन । सामाजिक सञ्जालमा मान्छे हाँसेकै फोटो हाल्छ, घुमेकै फोटो हाल्छ रमाएकै फोटो भिडियो हाल्छ । तर उसको वास्तविकता फरक पनि हुन सक्छ । साथीभाइहरूले उसको सामाजिक सञ्जाल मै अभिव्यक्त कुराहरू देखेर उसको जीवन खुसी सुख साथ चलिरहेको सोच्न सक्छन् तर यथार्थमा त्यसो नहुन सक्छ ।

फेसबुकमा ५ हजार साथीले रियाक्ट गर्छन् तर भेटेर कुरा सुनिदिने एक जना पनि हुँदैन । भेट् दा बोल्दा फगत शब्दहरू मात्रै बोलिन्न त्यसमा भावना जोडिन्छ । अनि महत्त्वाकाङ्क्षा बढाउँछ । आफूलाई अन्य व्यक्तिसँग तुलना गर्ने बनाउँछ । यसले मानसिक तनाव सुरु हुन थाल्छ । सञ्जालमा देखिने हरेक जसो कुराहरू हामीले वास्तविक जीवनमा खोज्न थाल्छौँ, त्यो नहुनासाथ हामी निराश मात्रै हुँदैनौ कतिपय अवस्थामा मानसिक समस्या नै निम्तिन सक्छ । यसको असर व्यक्ति मात्र नभई परिवारलाई नै पर्छ । त्यसले सञ्जालको प्रयोगलाई आफैँले आफ्ना लागि नियम बनाउनु पर्छ । के हेर्ने के नहेर्ने, कति बेला चलाउने कति बेला नचलाउने भन्ने आफूले निर्धारण गर्ने कुरा हो ।

कोभिड कोरोना पोस्ट कोभिड एन्जाइटी मानसिक रोग

लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग