Logo

कलेजो प्रत्यारोपणबारे जानकारी
के हो कलेजो प्रत्यारोपण  ? कसका लागि ? र तयारी कसरी गर्ने ?

डा. प्रदेज सापकोटा
सोमवार, असार ७, २०७८ मा प्रकाशित

कलेजो प्रत्यारोपण के हो ?

कलेजो प्रत्यारोपण एक शल्यक्रिया विधि हो जहाँ एक रोगी कलेजो हटाएर त्यसको ठाउँमा कुनै अर्को व्यक्तिको स्वस्थ कलेजो लगेर राखिन्छ । सिङ्गो कलेजो वा कलेजोको केही भाग प्रत्यारोपण गर्न सकिन्छ । धेरैजसो अमेरिकी र युरोपेली देशहरूमा स्वस्थ कलेजो मरणोपरान्त दान गर्ने चलन छ भने भारत कोरिया जापानमा जीवित मान्छेले नै आफ्नो स्वस्थ कलेजोको एक टुक्रा दान दिने विधि प्रचलित छ । यसरी जीवित दान गर्ने व्यक्ति आफ्नो परिवारको वा नजिकको नातेदार हुनुपर्छ र उसको रगत समूह मिल्ने हुनुपर्छ । जुन व्यक्तिले आफ्नो स्वस्थ कलेजोको टुक्रा दान गरेको हुन्छ, उसको कलेजो केही समयपछि पुरानै आकारमा विकास हुन्छ । कलेजो एक मानव अङ्ग हो जससँग पुनः उत्पन्न हुन सक्ने गुण हुन्छ । त्यसैले कलेजो दान पश्चात् केही समयमा नै यो पुरानै आकारमा आउँछ ।

कसका लागि ?

हामीहरू काम गर्न सक्ने कलेजो नभएमा बाँच्न सकिँदैन । कलेजोले राम्रोसँग काम गर्न नसक्ने अवस्था आएमा कलेजो प्रत्यारोपण गर्न जरुरी हुन्छ । जसलाई अन्तिम अवस्थाको कलेजो रोग वा क्रोनिक लिभर फैलिएर भन्ने गरिन्छ । यो अवस्था निकै गम्भीर र संवेदनशील समय हो । कलेजोको सिरोसिस (liver cirrhosis) यसको प्रमुख कारण हो । जब स्वस्थ कलेजोको तन्तुहरूलाई दाग भएका तन्तुहरूले  बदली दिन्छन्  तब कलेजोको सिरोसिस हुने गर्दछ र यसले कलेजोलाई ठिकसँग काम गर्न दिँदैन । अन्य रोगहरू जसले अन्तिम अवस्थाको कलेजो रोग बनाउन भूमिका खेल्दछन् , ती हुन् :

  • एक्युट  लिभर फेलियर कलेजोको इन्फेक्सन ओषधीहरूको रियाक्सन विषहरूबाट हुन्छ
  • बिलियरि एट्रेसिया (Biliary Atresia)
  • बच्चाहरूमा हुने कलेजो र बाइल डक्टको रोग भाइरल हेपाटाइटिस, हेपाटाइटिस बी र सी ले हुने रोग
  • मेटाबोलिक रोगहरू :  कलेजोको कोसीकाको रासायनिक कार्यमा उतारचढाव आउने
  • कलेजोको क्यान्सर
  • अटोइमिउन हेपाटाइटिस जब शरीरको रोगसँग लड्ने शक्तिले कलेजोलाई सङ्क्रमण गर्छ कलेजो सुन्निने हुन्छ

तयारी

कलेजो विशेषज्ञ डाक्टरले यदि तपाइलाई प्रत्यारोपण गर्नुपर्छ र त्यसका लागि तपाई सक्षम हुनुहुन्छ भन्ने लागेमा तपाई कलेजो प्रत्यारोपण केन्द्रमा सिफारिस गरिन्छ । नेपालको हकमा यो सेवा शिक्षण अस्पताल महाराजगन्ज र अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपलब्ध छ । अङ्ग प्रत्यारोपण समूहले तपाइको रोगको विभिन्न जाँचहरू गर्छ । यो समूहमा :

  • प्रत्यारोपण शल्य चिकित्सक
  • कलेजो विशेषज्ञ (Hepataitist)
  • प्रत्यारोपण नर्स
  • सामाजिक इकाईको प्रतिनिधि (Social worker)
  • मनोचिकित्सक
  • एनेस्थेसियोलोजिस्ट

रगतको जाँच मनोवैज्ञानिक जाँच सामाजिक आचरण र सम्पूर्ण शारीरिक जाँचहरू निकै महत्त्वपूर्ण हुन्छन् र यी जाँचहरू तयारीको समयमा गरिन्छ । यदि तपाईँको शरीरमा इन्फेक्सन देखियो कुनै भागबाट आएको क्यान्सर (metostentic cancer) देखियो मुटुको समस्या देखियो एकदमै रक्सी पिउने स्वभाव भेटियो अथवा प्रत्यारोपण समूहले भने बमोजिम कार्यहरू नगर्ने देखिएमा तपाईँको कलेजो प्रत्यारोपण नगरिने हुन्छ ।

घरमा

प्रत्यारोपण पश्चात् घर फर्केपछि गर्नुपर्ने कुराहरू उत्तिकै महत्त्वपूर्ण हुन्छन्,  घाउलाई सफा सुख्खा राख्ने गर्नुपर्छ । दिइएको समयमा प्रत्यारोपण समूहसँग अस्पतालमा नियमित भेटघाट गर्नुपर्छ । यदि ज्वरो आएमा , घाउ रातो भएमा, घाउमा रगत आएमा, घाउ वरिपरि बढी दुखेमा, आँखा र छाला पहेँलो भएमा, उल्टी आउने पखाला लाग्ने भएमा प्रत्यारोपण समूहसँग तुरुन्तै सम्पर्क गर्नुपर्छ । यी अङ्ग अस्वीकृति (organ rejection) को लक्षणहरू हुन सक्छन् ।

अङ्ग प्रत्यारोपणपश्चात् जीवनभर औषधी सेवन गर्नुपर्ने हुन्छ । यदि यसो गरिएन भने  प्रत्यारोपण गरेको कलेजो तपाइको शरीरले नलिन  अथवा अस्वीकृत गरिदिन्छ  । यी औषधीहरूलाई (Immunusuppressive Medicines) भनिन्छ । जसले शरीरको  रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर बनाउँछ । त्यस कारण प्रत्यारोपण पछि तपाइ सङ्क्रमणको उच्च जोखिममा हुनुहुनेछ । त्यसैले केही महिनासम्म  भिडभाडमा जानुहुँदैन । कलेजो प्रत्यारोपण एक संवेदनशील प्रक्रिया हो । यसलाई सफल पार्न प्रत्यारोपण समूह बिरामीको परिवार र बिरामी स्वयम् सबैको समान समर्पण र त्याग आवश्यक पर्दछ । फलस्वरूप मृत्युको मुखमा पुगेको बिरामीले नयाँ जीवन पाउँछ, जीवनमा नयाँ उत्साह र उमङ्ग जन्मिन्छ ।

कलेजो प्रत्यारोपण

लेखक परिचय

डा. प्रदेज सापकोटा

कलेजो प्रत्यारोपण तथा एच.पी.बि. शल्य चिकित्सक


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग