Logo

महिलाहरूमा हुने पिसाब चुहिने समस्या
के हो महिलाहरूमा पिसाब चुहिने समस्या Stress Urinary Incontinence ? यसका असर र समाधान

डा. मनिषा यादव
आइतवार, असार ६, २०७८ मा प्रकाशित

महिलाहरूले धेरै भोग्ने तर लुकाउने समस्या मध्ये पिसाब चुहिने समस्या एक हो । खोक्दा, हाँच्छ्युँ गर्दा, भारी बोक्दा महिलाहरूमा पिसाब चुहिन सक्छ । यो समस्यालाई चिकित्सकीय भाषामा  Stress Urinary Incontinence (SUI) भनिन्छ । तुलनात्मक रूपमा यो समस्या पुरुषमा भन्दा महिलाहरूमा बढी हुन्छ । सामान्य रूपमा महिलाहरूको पाठेघर र पिसाब थैलीका मांसपेशीहरू मजबुत हुन्छन् र पिसाब गर्नु वा फेर्नु हाम्रो नियन्त्रणमा हुन्छ । तर विभिन्न कारणले गर्दा सो मांसपेशीहरू कमजोर भएमा पिसाब चुहिन सक्छ ।

महिलाहरूमा बढ्दो उमेरमा महिनावारी सुक्न सुरु हुँदा वा सुकिसकेपछि महिलाको estrogen (स्त्रोजेन) हर्मोन उत्पादन कम हुने भएकोले पाठेघर र पिसाब थैलीका मांसपेशीहरू पातलो र कमजोर हुँदै जान्छन् र पिसाब चुहिन सक्छ ।

कुनै कुनै गर्भवती महिलाहरूमा पनि यो समस्या देखा पर्न सक्छ । तर प्राय महिलाको डेलिभरी पछि यो समस्याको आफैँ समाधान हुन्छ। धेरै बच्चा जन्माउनुभएका महिलाहरू यो समस्या देखिन सम्भावना बढी हुन्छ । यस बाहेक मोटोपन, नसा रोग, मधुमेह रोग तथा पिसाब खराबीका कारण पनि यो समस्या देखा पर्न सक्छ ।

समाधान कसरी गर्न सकिन्छ ?

ढिलो चाँडो अधिकांश महिलालाई यो समस्याले सताउँछ । महिलाहरूलाई यो समस्याका बारे, जानकारी हुन अत्यन्तै आवश्यक छ। यो समस्यालाई सामान्यरुपमा लिनु हुँदैन। समयमै उपचार पाए यो समस्या ठिक हुन्छ । जीवनशैली परिवर्तन र व्यायाम गरेर ५० प्रतिशत भन्दा बढी महिलाहरूमा यो समस्या ठिक हुन्छ । नियमित रूपमा शारीरिक व्याम गर्ने, तौल घटाउने, धूम्रपान र मद्यपान त्याग गर्नुपर्ने हुन्छ । महिलाहरूलाई हामीले पाठेघर र पिसाब थैलीको मांसपेशीलाई खुकुलो हुन नदिन विशेष किसिमको व्याम सिकाउँछौँ । समयमै समस्या पहिचान गरी चिकित्सकसँग परामर्श गरेको खण्डमा सामान्य व्यायाम र औषधीले नै यो समस्या समाधान गर्न सकिन्छ । सो गर्दा पनि समस्याको समाधान नभएमा र रोगले धेरै ग्रस्त भएका महिलाहरूको उपचार शल्यक्रिया गरेर पनि गर्न सकिन्छ ।

के Stress Urinary Incontinence (SUI) ले जीवनशैलीमा असर गर्छ ?

पिसाब चुहिने समस्या हुँदा महिलाहरू समाजमा घुलमिल हुन सक्दैनन् । मानसिक तनाव हुने पनि गर्दछ । श्रीमान् श्रीमतीको सम्बन्धमा पनि असर गर्न सक्छ । त्यसैले पिसाब चुहिने समस्या सामान्य होइन, यसको समयमै उपचार गर्नु पर्दछ । सामान्यतया, महिलाहरूले यो समस्या भोगेको लामो समयसम्म पनि खुलेर भन्न सक्दैनन् । डर लाजको कारणले लुकाएर राखिएको समस्याले दीर्घकालमा रोगकै रूपमा लिन पनि सक्छ ।

पिसाब महिला स्वास्थ्य मिर्गौला मृगौला

लेखक परिचय

डा. मनिषा यादव

युरो गाइनोकोलोजिष्ट


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग