Logo

स्तन क्यान्सरको बढ्दो खतरा र सामाजिक संरचना
स्तन क्यान्सर भनेको के हो, यसको जोखिम तथा नियन्त्रणका उपायहरू, समयमा कसरी पहिचान गर्ने र उपचारका उपायहरू

डा. बानिरा कार्की
शनिबार, असार ५, २०७८ मा प्रकाशित

स्तन क्यान्सर नेपाली महिलाहरूमा हुने क्यान्सरहरू मध्ये धेरैलाई हुने क्यान्सर हो । यद्यपि स्तन क्यान्सर अधिकांश महिलाहरूलाई नै हुने हो । तर यसबाट पुरुषहरू पनि सङ्क्रमित हुन सक्छन् । यसको सम्भावना एक प्रतिशत रहेको छ । अर्थात् सय स्तन क्यान्सर रोगीहरूमध्ये एक जना पुरुष पनि हुने गर्छन् । संयुक्त राष्ट्र अमेरिकामा दश हजार स्तन क्यान्सरका बिरामीमा गरिएको सर्वेक्षणमा ज्यान गुमाउनेको सङ्ख्या २०.१ प्रतिशत रहेको छ । नेपालमा स्तन क्यान्सरबाट ग्रसित हुनेहरूमा अधिकांशले रोग लुकाउने गरेको पाइएको छ । जसले जोखिम झनै बढाएको छ ।

के हो स्तन क्यान्सर भनेको ?

मानिसको स्तनका कोषहरूको अनियन्त्रित र अप्राकृतिक वृद्धिलाई नै स्तन क्यान्सर भनिन्छ । यी कोषहरू गाँठाको रूप लिन्छन् र स्तन अथवा काखीमा रहिरहन्छन् । प्राय यस्ता गाँठा दुख्दैनन् । स्तन क्यान्सरको मुख्य लक्षणहरू मध्ये स्तनको मुन्टोबाट रगत आउने, मुन्टो भित्र तानिने, स्तनको छालाको रङ्ग र रूपमा परिवर्तन हुने र स्तनको आकारमा परिवर्तन हुने जस्ता प्रमुख लक्षण हुन् । प्राय जसो यस्ता लक्षण देखिदा कुनै पनि प्रकारको दुखाइ नहुने हुँदा मानिसले स्तन क्यान्सरको लक्षणलाई खासै ध्यान दिँदैनन् ।

स्तन क्यान्सरको जोखिम तथा नियन्त्रणका उपायहरू

स्तन क्यान्सर नेपालीहरूमा प्राय ४० देखी ५० वर्ष उमेर समूहकालाई देखिएको छ । यद्यपि स्तन क्यान्सरको ठोस कारण पत्ता लागिसकेको छैन तर पनि केही कारणहरू जसले यसलाई बढवा दिन्छन् तिनीहरू भने पत्ता लागेका छन् । यी मध्ये महिलाहरू सानो उमेरमा महिनावारि हुँदा, धेरै उमेर भइसक्दा समेत महिनावारि नरोकिएको सन्दर्भमा, ढिलो उमेरमा गर्भवती हुँदा र स्तनपान थोरै गराउँदा अथवा नगराउँदा स्तन क्यान्सरको जोखिम बढी हुने पाइएको छ । घर परिवारमा स्तन क्यान्सरको बिरामी हुँदा समेत यस्तो रोग सन्तानमा देखिन सक्छ । मानिसको जीवनशैलीमा हुने परिवर्तन जस्तै खानपान, तौलमा वृद्धि, धूम्रपान, मद्यपान पनि कारणहरू मानिएका छन् । गर्भ निरोधक चक्कीको सेवन, हर्मोनल उपचार र रेडिएसनका कारणले पनि स्तन क्यान्सर हुन मद्दत गर्ने अध्ययनहरूले देखाएको छ। तर स्तन क्यान्सरको जोखिमहरूमा हुँदाहुँदै पनि नहुन सक्छ र अर्को तर्फ स्तन क्यान्सरका रोगीहरूमा माथि भनिएको कुनै पनि कारण नुहुन सक्छ । तर पनि त्यस्ता केही उपायहरू छन् जसले यस रोगबाट बच्न कालागि मद्दत गर्ने गर्छ । यसमा शारीरिक, जैविक उपायहरू हुन सक्छन् । शारीरिक उपायहरूमा नियमित व्यायाम, डेरी जन्य उत्पादन दूध, दही, इत्यादिको सेवन, सागसब्जी र फलफूलको सेवन जस्ता उपायहरू अपनाउन सकिन्छ । धूम्रपान, मद्यपान लागु औषधको सेवन नगर्नाले स्तन क्यान्सर हुने जोखिमलाई न्यूनीकरण गर्छ । जैविक उपायमा महिलाहरू समयमा नै गर्भवती हुने र नियमित स्तनपान गराउँदा पनि यसको जोखिमलाई कम गर्न सकिन्छ । ती महिलाहरू जसको पहिलो सन्तान ढिलो जन्मिन्छ उनीहरूमा स्तन क्यान्सरको सम्भावना ३ प्रतिशत हुन्छ । एउटा सन्तान जन्माउने महिलाहरूको तुलनामा सन्तान नजन्माउने महिलाहरूमा स्तन क्यान्सरको जोखिम १६ प्रतिशत सम्म हुने र एउटा सन्तान जन्माइसकेपछि स्तन क्यान्सरको जोखिम सात प्रतिशतले घट्ने अध्ययनले देखाएको छ । अझै भन्नुपर्दा एक वर्षसम्म स्तनपान गराउँदा स्तन क्यान्सरको जोखिम ५ प्रतिशतले घट्न जान्छ । प्राविधिक हिसाबमा, यदि महिला ३० वर्ष अगावै गर्भवती भएमा र एक वर्षसम्म स्तनपान गराएको खण्डमा स्तन क्यान्सरको जोखिमलाई धेरै हदसम्म न्यूनीकरण हुन जान्छ । स्तन क्यान्सरबाट बच्न रसायन र रेडिएसनबाट बच्नुपर्छ । गर्भ निरोधक चक्की सेवन गर्दा र हर्मोन रिप्लेसमेन्ट थेरापी गर्दा डाक्टरसँग परामर्श गर्नुपर्छ ।

समयमा स्तन क्यान्सरको पहिचान र उपचारका उपायहरू

आफ्नो स्तन बारेको जानकारी जुनसुकै उमेर समूहको महिलाहरूको लागि एकदमै आवश्यक कुरा हो । स्तन क्यान्सर यसको प्रारम्भिक चरणमा पत्ता लगाउन सकिएमा यसको उपचार सही तरिकाले गर्न सकिन्छ । यसको लागि आफैले आफ्नो स्तनबारे जाँच गर्ने उपाय प्रभावकारी हुन्छ । लुगा फेर्दा र नुहाउँदा आफ्नो स्तनको जाँच आफै गर्न सकिन्छ । यसको लागि कुनै विज्ञको आवश्यकता पर्दैन । यसको लागि सामान्य अवस्थामा स्तनको आकारको बारेमा जानकार हुनुपर्छ जसको कारणले स्तन अथवा स्तनको मुन्टोमा हुने परिवर्तनबारे थाहा पाउन सकियोस् । तर सबै प्रकारको परिवर्तन स्तन क्यान्सरको लक्षण नहुन पनि सक्छन् । अझ ४० देखी ५५ वर्ष उमेरका महिलाहरूलाई एक वर्षको अन्तरालमा मेमोग्राफी स्क्रीनिङको जाँच गरेर स्तन क्यान्सर भए नभएको जाँच गर्न सकिन्छ । यदि महिलाको उमेर ५५ वर्ष भन्दामाथि छ भने दुई दुई वर्षका अन्तरालमा यस्तो जाँच गराए पुग्छ । स्तन क्यान्सर भइसकेपछि यसको उपचारका लागि शल्यक्रिया गर्ने, रेडियोथेरापि गर्ने, केमोथेरापि गर्ने अथवा हर्मोनल थेरापी गर्ने भन्ने निर्धारण रोगको अवस्थामा भर पर्छ । रोग पत्ता लगाउने र उपचार गर्ने काममा सामाजिक, मानसिक र शारीरिक विषयहरू जोडिन पुग्दछन् । स्तनको शल्यक्रिया र स्तनको पुनर्निर्माण दुवैले क्यान्सरसँग लडिरहेको बिरामीको लागि कस्मेटिक र मानसिक तवरले हौसला दिन्छ । यससँग लडिरहेकाहरूका लागि उपचार गरिरहेका चिकित्सक, परिवार र अन्यहरूबाट दिइने सान्त्वनाले पनि यो रोगसँग लड्न प्रभावकारी भूमिका खेल्छ ।

हालको अवस्था

विकसित देशहरूमा उच्च प्रविधि भएकाले स्तन क्यान्सरको उपचारका लागि आवश्यक स्रोत साधन उपलब्ध छ तर अल्पविकसित तथा विकासोन्मुख देशहरूका माझ आफ्नै सीमितता छन् । विकसित देशहरूमा जाँच गर्ने उपकरणहरूका कारण र प्रभावकारी व्यवस्थापनका कारणले मृत्युदरमा निकै कमी आइसकेको छ । तर हामीकहाँ यस्तो उपकरण र व्यवस्थापकीय कमीका कारणले स्तन क्यान्सरको सही उपचार हुन सकेको छैन । संविधानको धारा ३५ को १ मा व्यवस्था गरिएको ‘स्वास्थ्य सुविधाको हक’ र धारा ३५ को ३ मा व्यवस्था गरिएको ‘स्वास्थ्यमा समान पहुँचको हक’को व्यवस्था गरिएता पनि जनसङ्ख्याको ठुलो हिस्सा सामान्य उपचार,अल्ट्रासाउन्ड र मेमोग्राम जस्तो आधारभूत सुविधाबाट वञ्चित छ । मानिसहरूको न्यून आयका कारणले बिरामीहरूले समयमा डाक्टरसँग चेकजाँच गर्न पाउँदैनन् । स्वास्थ्यमा जनसङ्ख्याको थोरै हिस्साको मात्रै पहुँच रहँदा बाँकी ठुलो हिस्सा ओझेलमा पर्न गएको छ । यसका साथ साथै राष्ट्रिय तहमा हुनु पर्ने तथ्याङ्क सङ्कलनको काम प्रभावकारी नहुनाले स्तन क्यान्सरका रोगीहरू बारेको तस्बिर धमिलो देखिन गएको छ । नेपाल सरकारले यस आर्थिक वर्ष २०७७÷७८ मा स्वास्थ्य क्षेत्रमा ९० बिलियन रुपैयाँ बजेट विनियोजन गरिएको छ । जसको लक्ष्य कोभिड १९ विरुद्ध प्रभावकारी लडाइ लड्नु पनि हो । स्वास्थ्य मन्त्रालयले स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर पहिचान र उपचारका लागि स्थानीय तहका स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था मिलाउने लक्ष्य राखेको छ । सरकारले कागजमा योजना तयार पारिसकेको छ र यो छिटो नै सबै तहमा कार्यान्वयनका लागि जाँदै छ । सरकारले  स्तन क्यान्सरसँग लडिरहेका लागि रोकथाम, उपचार र पुनर्वाससम्मको जिम्मा लिनेछ । यदि यो योजना देशको सबै स्थानमा लागु हुन सके स्तन क्यान्सरको समयमा नै पहिचान हनु मद्दत गर्ने छ र उपचार हुनेहरूको सङ्ख्यामा पनि उल्लेखनीय वृद्धि हनु रे छ । त्यसैले हरके व्यक्तिले  आफ्नो स्वास्थ्यको ध्यान आफैले दिनुपर्छ र महिलाको स्वास्थ्य सम्बन्धमा गैर सरकारी संस्थाहरूले समेत राज्यको साथ दिनुपर्छ ।

क्यान्सर महिला स्वास्थ्य स्तन

लेखक परिचय

डा. बानिरा कार्की

स्तन क्यान्सर रोग विशेषज्ञ


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग