Logo

बाल स्वास्थ्य र पोषण
पहिलो ४ महिनामा, ४-६ महिनामा, ६- ८ महिनामा, ८-१० महिनामा, १०-१२ महिनामा बच्चाहरूलाई के खुवाउने ? के नखुवाउने ?

डा. सुशील ढुङ्गेल
शुक्रबार, असार ४, २०७८ मा प्रकाशित

बच्चाहरूलाई सानैदेखि सफा र स्वस्थ खानेकुरा खाने बानी सिकाउनु /गराउनु पर्दछ । स्वस्थ खाना खानाले बच्चाको तीक्ष्ण बुद्धि, स्वस्थ र फुर्तिलो शरीर हुनुको साथै  शरीरमा ऊर्जा पैदा गरी वृद्धि र विकासमा गतिशीलता प्रदान गर्दछ । सानैदेखि पौष्टिक खाना खान  प्रोत्साहित  गर्ने हो भने बच्चाहरू उमेर अनुसारको वृद्धि र विकास हुँदै जान्छन् । बच्चाहरूको लागि चाहिने पोषणयुक्त खाना सिद्धान्तत वयस्ककै खाना समान छ । सबै व्यक्तिहरूलाई  भिटामिन, खनिज, प्रोटिन, कार्बोहाइड्रेट र बोसो सहित पोषक तत्त्व भएकै खाना चाहिन्छ । फरक फरक उमेर र लिङ्गमा खानाको  क्यालोरी र पौष्टिक आहाराको मात्रा फरक फरक हुन्छ । आफ्नो बच्चाहरूका  लागि खाना वा खाजा तालिकामा, निम्न लिखित तलका पोषणयुक्त खाना समावेश गर्नु जरुरी छ ।

  • प्रोटिन (Protein) – मासु , अन्डा , गेडागुडी ,भटमास आदि ।
  • फलफूल (Fruits) – ताजा मौसम अनुसारको फलफूलको रस ।
  • तरकारी (Vegetables) – ताजा मौसम अनुसारको तरकारीहरू ।
  • अन्न (Grains) – गहुँ, मकै, चामल लगायत अन्नबाट बनेका खानाहरू ।
  • दुग्ध पदार्थ (Dairy) – कम बोसोयुक्त दूध ,दही , चिज, भटमासको पेय पदार्थहरू ।
  • बोसो (Fat), चिनी(Sugar), नुन(Salt )  –  बच्चालाई खाना बनाउँदा बोसो, चिनी र नुनको मात्रामा विशेष ध्यान पुर्‍याउनु पर्दछ ।

बच्चाहरू बुझ्नुभएपछि ठुलो मान्छेको नक्कल गर्ने भएकोले उनीहरूको अगाडी ताजा र  स्वस्थ खानेकुरा खान जरुरी छ । बजारमा पाइने व्यावसायिक परिकार जस्तै  आलु चिप्स, चाउचाउ, कोकाकोला  लगायत जङ्क फुड (junk food) बच्चाको पहुँच भन्दा टाढा राख्नु नै उत्तम हुन्छ । यस्ता खानेकुरामा खानाको स्तर अनुसार चाहिने पोषण भन्दा धेरै गुणा कम पोषण र थप रसायन हुने भएकोले बच्चालाई फाइदा भन्दा बेफाइदा बढी गर्दछ जसको कारण बच्चामा उमेर अनुसारको तौल नहुने र कुपोषण हुने हुन्छ ।  त्यसैले बच्चालाई ताजा सामग्रीबाट घरमै परिकार बनाइ  खुवाउनु अत्यन्त जरुरी छ ।

बच्चाको उमेर अनुसार खुवाउने खानाको तालिका :

यहाँ दिइएको खानाको तालिका अनुसार बच्चालाई कुन उमेरमा कस्तो खाना खुवाउन पर्दछ भन्ने कुरामा यहाँलाई मद्दत गर्नेछ । यसमा दिइएको खानाको  जानकारी समग्रमा मात्र हुन । प्रत्येक बच्चा फरक हुन्छ र उसलाई चाहिने खानाको मात्रा पनि फरक पर्दछ । त्यसैले यहाँ दिइएको तालिकालाई पूर्ण रूपले अनुसरण गर्ने काम नगरौँ ।

पहिलो ४ महिनामा के खुवाउने ?

आमाको दूध वा बट्टाको धुलो दूध । 

पहिलो ६ महिना बच्चालाई आमाको दूध बाहेक केही चाहिँदैन ।  यदि आमाको दूध बच्चालाई पुग्ने छ भने अरू केही खुवाउनु पर्दैन । आमाको दूध पर्याप्त मात्रामा निकाल्न आमाले रसिलो र पौष्टिक  खानेकुराको मात्रा पर्याप्त खानु पर्दछ । यदि यति गर्दा पनि आमाको दूध पर्याप्त आउँदैन भने बच्चालाई बट्टाको धुलो दूध खुवाउनु सकिन्छ ।

कति खुवाउने ?

कम्तीमा प्रत्येक २-३ घण्टा दिनमा र ३-४ घण्टा रातमा

के खुवाउन हुँदैन ? 

आमाको दूध वा बट्टाको धुलो दूध बाहेक अरू केही खुवाउन हुँदैन ।

जानिराखौँ : आमाको दूध बट्टाको दूध भन्दा चाँडो र राम्ररी पच्ने भएकोले आमाको दूध खाने बच्चा चाडै भोकाउँछ र धेरै खान्छ । 

४-६ महिनामा के खुवाउने ?

 धेरै जसो बच्चालाई ६ महिना सम्म दूधले मात्र पुग्दछ । तर कुनै बच्चालाई दूधले मात्र नपुग्ने हुन सक्दछ । त्यसैले  दूध बाहेक अरू बच्चाले पचाउन सक्ने खानेकुरा दिन सकिन्छ । यदि बच्चालाई दूध बाहेक अरू खानेकुरा खुवाउने हो भने , त्यस्तो खानेकुरा झोल वा लेदो हुन जरुरी  छ ।  झोल वा लेदो खाना बच्चाले सजिलै निल्न सक्दछ र कतै अड्काउने डर हुँदैन । यसरी नयाँ खानेकुरा सुरु गर्दा एक पटकमा एउटा मात्रा नयाँ खाना खुवाउनु पर्दछ । अर्को प्रकारको नयाँ खाना ३-४ दिनको फरकमा परिवर्तन गर्न सकिन्छ । नेपालमा दूध बाहेक सुरुको खाना नै लिटो दिने चलन छ । तर हामी सबैजसोको भान्छामा पाक्ने दाल पहिलो खानाको रूपमा सुरु गर्न सकिन्छ । दिनको ३-४ पटक १-१ चम्चाको हिसाबले बाक्लो दालको माड ३-४ दिन सम्म दिन सकिन्छ ।  यदि यो खान दिने क्रममा बच्चाको जिउमा एलर्जीको फोकाहरू देखियो भने तत्काल खाना रोक्नु पर्दछ र केही हप्ता पछि फेरी खान दिन सकिन्छ । तर धेरै अनुसन्धान क्रममा प्रोटिन (दाल) पचाउन गाह्रो हुने देखिएको छ। त्यसैले गेडागुडी ६ महिना पछि खान दिँदा राम्रो हुन्छ । यसरी बच्चामा पचाउन गाह्रो भएको देखियो भने भातको माड, उसिनेको फलफूल वा तरकारीबाट सुरु गर्न सकिन्छ ।

के खुवाउने ?

आमाको दूध, बट्टाको धुलो दूध,  फलफूल /तरकारी ( नपुग्नेको लागि मात्र )

के खुवाउन हुँदैन? 

  • जुनसुकै पनि चपाउन पर्ने खाना
  • अमिलो खाना
  • दूधको परिकार

नयाँ थप्न सकिने खाना :

  • बाक्लो दालको झोल
  • भातको माड
  • फलफूलको रस
  • ५-१० मिनेट सम्म उसिनेको फलफूल वा तरकारीको लेदो (puree )

फलफूल / तरकारीको लेदो (puree ) कसरी बनाउने ?

  • पाकेको फलफूल (जस्तै : स्याउ, अवोकाड़ो, नासपती, मेवा आदि), तरकारी (जस्तै :फर्सी, गाजर, काउली, आलु आदि) राम्ररी पखाल्ने।
  • बोक्रा ताछ्ने र धेरै ठुलो छ भने सानो टुक्रा पार्ने ।
  • काटेको टुक्रालाई उम्लिएको पानी वा बाफ मा ५-१० मिनेट पकाउने ।
  • पाकेर सेलाए पछि हातले मिचमाच पार्ने र अलिकति पानी हालेर गिलासमा चम्चाले घोल्ने , यदि घरमा मिक्सर (mixer/grinder)छ भने मिक्सरमा घोल्ने ।
  • यति गरेपछि चिया छान्नेले छान्ने ।
  • छानेको लेदो बच्चालाई खुवाउन तयार भयो ।
  • यस्तो खाना एक पटकमा १ चम्चा बाट सुरु गर्न सकिन्छ । यदि बच्चाले खायो भने बिस्तारै बढाउन सकिन्छ ।
  • यदि बच्चाले खान मानेन भने जबरजस्ती खुवाउनु हुँदैन ।  २-३ दिन पछि फेरी खुवाउन कोसिस गर्न सकिन्छ ।

जानिराखौँ : प्रत्येक बच्चा भिन्न किसिमका हुन्छन्। कुनै पनि २ बच्चाले एकै किसिमले खाँदैनन्।  अरूको बच्चासँग आफ्नो बच्चा कहिले तुलना गर्नु हुँदैन।  अरू छरछिमेकले यो उमेरमा यति खान्छ उति खान्छ भन्दैमा उनीहरूको कुरामा पछि नलागी  बरु त्यस्तो कुनै समस्या छ जस्तो लाग्छ भने सम्बन्धित चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ। 

६- ८ महिनामा के खुवाउने ?

यो उमेरमा बच्चालाई ठोस खानेकुरा खुवाउन सकिन्छ । यदि ६ महिना अगाडी ठोस खाना खुवाइएको छैन भने माथि दिइएको तरिकाले ठोसबाट झोल वा लेदो बनाई  खुवाउन सुरु गर्न सकिन्छ ।

के खुवाउने ?

  • आमाको दूध, बट्टाको धुलो दूध
  • दालको झोल, भातको माड
  • दूधमा मिचिएको केरा
  • फलफूल वा तरकारीको लेदो (puree )
  • २ वटा फलफूल वा २ वटा तरकारीको लेदो (puree) मिसाएर
  • लिटो
  • दूधको परिकार ( दही, चिज,पनिर)
  • गेडागुडी
  • घिउ

के खुवाउन हुँदैन?

  • चपाउन पर्ने कुराहरू – बच्चाले चपाउन सक्दैन र अड्काउँछ ।
  • चिल्लो रहित दही – यो उमेरको बच्चामा मस्तिष्क विकासको लागि चिल्लो पदार्थ बढी मात्रमा चाहिन्छ । त्यसैले बजारमा पाइने चिल्लो रहित दही भन्दा घरमै बनाएको दही लाभदायक हुन्छ ।

जानिराखौँ : यो उमेरको बच्चामा कुनै नयाँ खानेकुरो (जस्तै :अन्डा, माछा, मासु) खान दिनु भन्दा पहिला त्यो नयाँ खाना मात्र खान दिएर जाँच गर्नु राम्रो हुन्छ। पहिलो चोटि खान दिँदा अरू खान भित्र हालेर खुवाउनु उचित हुँदैन । कुनै पनि खानाले एलर्जी निम्त्याउने हुनाले अलिकति खान दिएर जाँच गरेर खुवाउनाले बच्चालाई जोगाउन सकिन्छ ।

८-१० महिनामा के खुवाउने ?

 के खुवाउने ?

  • आमाको दूध , बट्टाको धुलो दूध
  • फलफूल व तरकारीको लेदो
  • लिटो
  • दूधको परिकार ( दही, चिज,पनिर)
  • गेडागुडी
  • नयाँ खाना (अन्डा, माछा, मासु )
  • अन्डा -अन्डा खान सुरु गर्दा जहिले पनि पहेँलो भाग सुरुमा खान दिनु पर्दछ । अन्डाको सेतो भागले एलर्जी गर्ने भएकोले १ वर्षको उमेर पछि खुवाउनु राम्रो हुन्छ।
  • माछा, मासु सुरु गर्दा दुवै एकै चोटि खान दिनु हुँदैन। १ पटकमा एक थरी मात्र गरी बिस्तारै खुवाउनु पर्दछ। तरकारी र फलफूल जस्तै माछा र मासुलाई पनि मिचेर लेदो बनाएर खुवाउन पर्दछ।

१०-१२ महिनामा के खुवाउने ?

के खुवाउने ?

  • माथि दिइएको १० महिना सम्म खुवाउन मिल्ने खानाहरू
  • नयाँ खुवाउन मिल्ने : घरमा पाक्ने जुनसुकै खानेकुरा दिन सकिन्छ तर याद रहोस् धेरै चिल्लो, मसलादार, नुनिलो र पिरो हुन हुँदैन ।

के खुवाउन हुँदैन ?

  • गाइको दूध
  • मह – १ वर्ष अगाडि मह खुवाउन हुँदैन । १ वर्ष मुनिको बच्चामा महले बोटुलिज्म (botulism) गराउने हुँदा महबाट बच्चालाई टाढा राख्नु पर्दछ ।

जानिराखौँ : ठोस खानेकुरा खुवाउन सुरु गर्दा पानी पनि सँगसँगै पियाउनु राम्रो हुन्छ । दिनको १५० मिलिलिटर सम्म पियाउँदा ठिकै हुन्छ । ठोस खानेकुरा सुरु गरेपछि बच्चालाई कब्जियत सुरु हुने हुँदा पानीले फाइदा गर्दछ ।  

१ वर्ष मुनिका बच्चाहरूलाई दिन नमिल्ने खानेकुराहरू :

अड्काउन सक्ने खानेकुराहरू :

  • सिङ्गो गेडाजन्य खाना :  बदाम, काजु,पेस्ता,भुटेको मकै भटमास आदी ।  यिनीहरूलाई धुलो बनाएर बच्चा ३ वर्ष नहुन्जेल  खुवाउन सकिन्छ ।
  • ठुलो फलफूल : बयर, अङ्गुर, काफल, जामुन, गाजर,काँक्रो, स्याउको टुक्रा आदी ।
  • चकलेट : साह्रो चकलेट वा  जेल्ली

एलर्जी हुने खानेकुरा :

  • बदामहरू
  • अन्डा
  • समुन्द्रका उत्पादन (seafood)
  • फलफूल :स्ट्रबेरी, अमिलो (कागती, सुन्तला ) जसले दुख्ने गरी डाबर आउन सक्दछ ।
  • चकलेट

अन्य :

  • गाइको दुधे  बच्चा १ वर्षको नहुँदा सम्म गाइको दूध दिन हुँदैन । गाईको दूधमा अधिक मात्रामा प्रोटिन र नुन हुने भएकोले १ वर्ष मुनिको बच्चाको जिउले धान्न सक्दैन । यसमा फलाम तत्त्व र राम्रो चिल्लो पदार्थ (essential fatty  acid )को मात्रा पनि आमाको दूध वा बट्टाको दूध भन्दा कम हुन्छ जुन चाहिँ बच्चालाई बढ्नको  लागि आत्तिनै आवश्यक हुन्छ । कुनै कुनै बच्चामा गाइको दूधले गर्दा एलर्जी पनि देखिएको छ ।
  • मह : महमा Clostridium botulinum को स्पोर हुने भएकोले बच्चालाई खतरनाक हुन्छ ।
  • पास्चुराइज नगरेको दूध
  • चिया कफी : चिया र कफीमा क्याफिन भन्ने तत्त्व हुने हुँदा यसले क्याल्सियम सोस्नमा अवरोध गर्ने गर्दछ ।
  • ग्यास भएको पेय पदार्थ : सोडा, कोलामा चाहिने भन्दा बदी चिनी, नुन, रसायन, हुन्छ जुन बच्चामा हानिकारक हुन्छ ।  ग्यासले गर्दा बच्चाको पेट दुख्ने समस्या हुन सक्छ ।
  • नुन : १ वर्षमुनिको बच्चालाई खानामा नुन हाल्नु जरुरी छैन । नुन एक रसायन हो जुन हामीलाई चाहिन्छ तर थोरै मात्रामा । हाम्रो शरीरलाई चाहिने नुन शरीरमा सोसिन्छ, नसोसेको नुन पिसाबमा बाहिर फालिन्छ । पिसाब भएर बाहिर आउँदा छान्ने  काम मिर्गौलाले गर्दछ । बच्चाको मिर्गौला राम्ररी विकास भैसकेको हुँदैन, जे कुरा पनि अति मात्रामा भयो भने हानि गर्दछ । धेरै नुनले मिर्गौलाको क्षति हुन सक्दछ ।  बच्चालाई चाहिने नुनको मात्रा आमाको दूध वा बट्टाको दूध बाट नै पूर्ति हुन्छ । त्यसैले छुट्टै नुन हालिरहनु पर्दैन । बच्चालाई नुन को स्वाद कस्तो हुन्छ भन्ने थाहा हुँदैन । हामीले नुनको स्वाद सिकेको भएर मात्र हामीलाई नुनको स्वाद यस्तो हुन्छ भनेर थाहा भएको हो नत्र भने हामीले सानैदेखि थोरै नुन हालेर खाने बानी भएको भए हामीलाई थोरै नुनले नै पुग्थ्यो । बच्चाको मुखमा कुनै स्वाद बसी नसकेकोले उसलाई खानामा नुन चाहिने हो कि नचाहिने हो त्यो थाहा हुँदैन । बच्चाले खाने अरू खानेकुरामा पनि चाहिने मात्रामा नुन हुने भएकोले छुट्टै नुन हाल्नु पर्दैन ।
खानेकुरा पोषण बच्चा

लेखक परिचय

डा. सुशील ढुङ्गेल

जनरल / बाल रोग शल्य चिकित्सक


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग