Logo

बच्चाको पेट दुखेमा के गर्ने ?
पेट दुख्ने कारण, पेट दुखेमा के गर्ने र घरमा गर्न सकिने उपचार

डा. सुशील ढुङ्गेल
शुक्रबार, असार ४, २०७८ मा प्रकाशित

पेटको दुखाई करङको मुनिदेखि यौनाङ्गको माथिल्लो भाग जतै पनि हुन सक्छ । सानो र बुझ्न नसक्ने बच्चाले दुखेको भागमा हात लैजान्छ भने बुझ्ने बच्चाले पेट दुखेको भाग छुट्टाई दुखेको भाग देखाउन सक्दछ ।

के कारणले पेट दुख्छ ?

पेटको दुखाई (Colic) बच्चा जन्मेको १० दिन देखि ३ महिनासम्म देख्न देखिन्छ । यसको सही कारण अहिलेसम्म थाहा हुन सकेको छैन । आन्द्राको द्रुतगति र उग्र संकोचनको कारण बच्चामा दुखाइ पैदा हुन्छ । बच्चामा दुखाई दिउसो र साँझतिर बढी देखिन्छ। यस्तो भएको बेला बच्चा धेरै रुन्छ , खुट्टा फ्याँक्दछ , हावा बढी फ्याँक्दछ र आलस्य हुन्छ । यसको समाधानको लागि बच्चालाई थुम्थुमाउनेर बोकेर डुलाउने जस्ता कार्य गर्न सकिन्छ ।

  • अपच(Indigestion) : धेरै खानेकुरा खानाले वा खाना नपचेमा हल्का पेट दुख्न सक्छ ।
  • सङ्क्रमण (Infection) : कुनै पनि कीटाणुको सङ्क्रमणले पेट काट्न सक्छ। यस्तो भएमा बच्चालाई झाडा बान्ता लाग्न सक्छ ।
  • विषाक्त खाना (Food Poisoning ) : फ्रिजमा नराखेको बासी खाना खानाले पेट दुख्नुको साथै झाडा बान्ता लाग्न सक्छ ।
  • कब्जियत(Constipation) : कब्जियत भएमा तल्लो पेट दुख्न सक्छ ।
  • घाटीको सुजन (Streptococcal pharyngitis) : घाटीको सुजन भएको बेला पेट दुख्न सक्छ ।
  • तनाव (Stress) : बच्चालाई बारम्बार पेट दुखाइ देखिराखेको छ भने त्यो उसको तनावको कारण हुन सक्दछ । त्यसैले बच्चालाई तनावबाट मुक्त राख्नु पर्दछ । घरपरिवारमा दैनिक हुने सामान्य असहज क्रियाकलापले पनि बच्चालाई तनाव पर्न सक्दछ । परिवारमा हुने आपसी असमझदारी, बच्चाको जीवनमा हुने परिवर्तनबाट पनि तनाव उत्पन्न हुन सक्दछ । तनावको कारणले हुने पेटको दुखाई प्राय नाइटोमा केन्द्रित हुन्छ ।
  • गम्भीर कारणहरू : गम्भीर प्रकारका पेट दुखाइ शल्यक्रिया गर्नुपर्ने रोगहरू हुन सक्छन् । गम्भीर प्रकारका पेट दुखाइ पनि आकस्मिक र गैर-आकस्मिक गरी २ प्रकारले वर्गीकरण सकिन्छ । आकस्मिकमा अपेण्डिसाइटिस (Appendicitis ), इनटसससेप्सन (intussusception), अड्किएको हर्नियाँ (obstructed hernia), बटारिएको अण्डकोष(Testicular torsion), आन्तरिक रक्ताश्राब (Internal Bleeding ) आदि पर्दछन् जुन जतिसक्दो चाडै अप्रेसन गर्नुपर्दछ भने गैर-आकस्मिकमा पत्थरी, टयूमर, सिस्ट,जुका आदि पर्दछन् जुन समय मिलाएर अप्रेसन गर्न सकिन्छ ।

पेट दुखेको बिरामीलाई कहिले चिकित्सककहाँ देखाउने ?

  • बच्चा साह्रै नै सिकिस्त देखिएको छ भने
  • यदि बच्चाले विषालु बिरुवा, औषधि, रसायन चलाएको छ भने
  • हिँड्न सक्दैन वा हिँड्दा शरीर निहुराएर हिँड्छ भने
  • दाय पट्टी तल्लो भागमा बढी दुखेको छ भने
  • दुखाइ सँगै अण्डकोष सुनिएको छ भने
  • कुनै पनि भागमा बढिनै दुखेको छ भने
  • दुखाइ सँगै बिरामी बढिने रोइरहेको छ भने
  • दिसा वा बान्तामा रगत देखिएको छ भने
  • बान्ता पहेँलो वा हरियो छ भने
  • केही पहिला कुनै दुर्घटना भएको छ भने
  • २ वर्ष भन्दा मुनिको बच्चा छ भने
  • ज्वरो १०४ भन्दा माथि छ भने
  • महिनावारी भइसकेको र गर्भवतीको लक्षण देखाउँछिन् भने
  • दुखाई झन् बढ्दै गएको छ भने
  • २ घण्टा सम्म पनि दुखाई कम हुँदैन भने
  • २४ घण्टामा दुखाई आउँदै जाँदै गर्छ भने

घरमा गर्न सकिने उपचार :

  • पेटमा हावा भरिएर वा बढी खानाको सेवन गरेर हल्का पेट दुख्न सक्छ । यस्तो भएमा पेटबाट हावा निकाल्ने कुराहरू खुवाउन सकिन्छ । यसको लागि बजारमा पाइने राम्रो किसिमको हावा बाहिर निकाल्ने औषधि/पाचक प्रयोग गर्न सकिन्छ । बच्चालाई खान धेरै भएर पेट दुखेको छ भने शौचालय जान प्रोत्साहित गर्नु पर्दछ । पेटबाट दिसा बाहिर निस्किएपछि धेरै नै राहत हुन्छ ।
  • बच्चालाई पेट थिचेर केही बेर सुत्न लगाउँदा आराम हुन्छ ।
  • पेटको दुखी रहेमा तरल पदार्थ मात्र खान दिनुहोस् ।
  • बच्चालाई बान्ता गर्न प्रोत्साहित गर्न सकिन्छ। यसबाट पनि निकै राहत मिल्छ ।
  • लामो समय देखि कब्जियतले दुख दिई रहेको छ भने पेट दुखाइको कारण नै पेटमा जम्मा भएको दिसाले गर्दा हुन्छ । त्यसैले सकेसम्म बच्चालाई दिसा गर्न प्रोत्साहित गर्नु पर्दछ । यसको लागि बच्चालाई शौचालयमा लगेर बसाउन सकिन्छ। बस्दा खेरि दिसा गर्न गाह्रो भएको छ भने बच्चालाई मनतातो पानीमा बस्न लगाउनु पर्दछ । यसरी पानीमा बस्दा मलद्वारलाई आराम पुग्दछ र दिसा बाहिर सजिलै निस्कन्छ ।
  • खानपानमा विशेष ध्यान दिनु पर्दछ । बजारमा पाइने रेडिमेड प्याकेटको खाना (Junk Food) बच्चालाई खान दिनु हुँदैन । यसमा प्रयोग हुने रसायनले पेटको अल्सर भएको पाइएको छ ।
  • पेट दुखेको बेला बच्चाले बान्ता गर्न सक्ने हुनाले बान्ताको लागि तयार भएर बस्नु पर्दछ ।
  • कुनै पनि दुखाई कम गर्ने औषधी बच्चालाई दिनु हुँदैन । दुखाइ कम गर्ने औषधि (जस्तै :ब्रुफ़ेन)ले पेटको भित्री भित्ता खियाउने भएकोले दुखाई झन् बढी हुन सक्दछ । ज्वरो १०२ भन्दा माथि छ भने सिटामोल चाही दिन सकिन्छ।
  • गम्भीर प्रकारको पेट दुखाई छैन भने यसको समय सीमा २ घण्टा भन्दा बढी हुँदैन । २ घण्टा पछि पनि दुखाई कम भएन वा झन् बढ्दै गयो भने गम्भीर कारण छ भन्ने बुझ्नु पर्दछ ।
पेट बच्चा

लेखक परिचय

डा. सुशील ढुङ्गेल

जनरल / बाल रोग शल्य चिकित्सक


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग