Logo

बच्चामा कब्जियतको समस्या र समाधान
बच्चामा देखिने कब्जियतको परिभाषा, लक्षण, कारण र उपचार विधि

डा. सुशील ढुङ्गेल
सोमवार, जेष्ठ ३१, २०७८ मा प्रकाशित

के हो कब्जियत ?

मानिसलाई दैनिक जीवनमा समयमै दिसा नभएर गाह्रो हुने वा कडा प्रकारको दिसा आएर गाह्रो हुने अवस्थालाई कब्जियत वा दिसा गोटा पर्नु भन्न सकिन्छ । यसरी आउने कडा दिसामा साधरणतया भन्दा पानीको मात्रा धेरै कम हुन्छ । कब्जियतको कारणले दैनिक कार्य नै चौपट पार्दछ । कब्जियतले धेरै दुख दिएपछि वा उपचार समयमै नगरिएमा बच्चाले कट्टुमा दिसा चुहाउन थाल्दछ ।

प्रत्येक मानिसको भिन्नाभिन्नै पाचन शैली हुन्छ । दिनको २-३ पटक देखि केही दिनमा बिराएर मानिसले दिसा गर्ने गर्दछन् । यदि कुनै मानिसले सामान्यता भइराखेको भन्दा कम मात्रामा दिसा गर्न थाल्यो भने, कब्जियत भएको भन्ने बुझ्नु पर्दछ । कब्जियत केही दिन, हप्ता देखि केही महिना सम्म रहन्छ । प्राय बच्चालाई कब्जियत दिसा गर्ने तालिम दिने बेला, विद्यालय जान सुरु गर्दा, घुम्न निस्कँदा, खाना परिवर्तन गर्दा वा परिवारमा नयाँ सदस्यको जन्म भएको खण्डमा हुने गर्दछ ।

बच्चामा देखिने कब्जियतको लक्षण के के हुन्  ?

  • दिसा साह्रो र गोटा परेको हुन्छ,
  • ३ दिनदेखि बढी समय दिसा हुँदैन,
  • दिसा गर्दा बच्चालाई पिडा हुन्छ,
  • बच्चाले लामो समय शौचालयमा बिताउँछ,
  • कडा दिसाले गर्दा मलद्वारमा च्यातिएर रगत आउन सक्छ,
  • पेट नराम्ररी दुख्छ, दिसा गरेपछि पेटको दुखाई सन्चो हुन्छ र
  • बच्चाले कट्टुमा थाहा नपाई दिसा चुहाउँछ ।

सामान्यता बच्चाले कति पटक दिसा गर्नु पर्दछ ?

  • दिनको ३ पटक देखि २ दिनमा १ पटक सामान्य बच्चाले दिसा गर्नु पर्दछ।
  • दूध बाहेक सामान्य खाना खान थालेपछि वयस्क जस्तै दिसाको तालिका हुन थाल्दछ ।
  • प्रत्येक ४-५ दिनमा दिसा गर्ने बच्चालाई बढी पिडादायक हुन्छ ।
  • सामान्यता दिसा गर्दा पिडा हुनु हुँदैन ।
  • बच्चाले पिडाको गुनासो गर्ने बित्तिकै उपचार सुरु गर्नु पर्दछ ।
  • १ महिना माथिको स्तनपान गर्ने बच्चाले ४-७ दिनमा दिसा गर्छ र दिसा गर्ने बेला कुनै दुखाइ बिना कमलो र धेरै मात्रामा दिसा निकाल्छ भने त्यो सामान्य मान्नु पर्दछ ।
  • सुतेर दिसा गर्दा बच्चाले कन्नु सामान्य हो। बसेर गर्दा जति सजिलो हुन्छ सुतेर त्यति नै गाह्रो हुन्छ ।
  • पिडा बिनाको कसिलो र सुक्खा दिसा पनि सामान्य मानिन्छ ।

कब्जियतको कारण के हो ?

प्रायजसो बच्चालाई खाना नमिलेर र दैनिकी नमिलेर कब्जियत हुने गर्दछ ।  प्रमुख कारणहरू निम्न हुन:

  • दूधको बढी प्रयोग : दूध वा दूध बाट बनेको चीज बढी मात्रामा खानाले कब्जियत गर्दछ । दूधले दिसालाई कसिलो र कडा बनाउँदछ ।
  • फाइबर युक्त खानाको कम प्रयोग :फाइबर तरकारी, फलफूल, अन्नमा पाइन्छ । फाइबरले दिसालाई कमलो, धेरै मात्राको र सजिलै बाहिर निस्कन सक्ने बनाउँदछ । फाइबर कम भएको खण्डमा दिसा साह्रो र कम मात्राको बन्दछ ।
  • खानामा पौष्टिक मात्राको असन्तुलन : माछा मासु, अण्डा र चिनीजन्य पदार्थको बढी प्रयोग र प्राकृतिक खानाको कम प्रयोग भएमा कब्जियत हुन्छ ।
  • तयारी खानाको बढी प्रयोग : अभिभावकको व्यस्तता  वा बजारिया खानाको मिठासले आजकल बच्चाहरूमा बाहिरी तयारी खाना बढी प्रयोग गर्न थालेका छन् । कहिलेकाहीँ यस्तो खाना खादा त केही नहोला तर प्राय सधैँ खानेलाई भने पेटको दुखाई साथै कब्जियतले दुख दिन थाल्दछ ।
  • तरल पदार्थको कम खुवाई : तरल पदार्थ कम खानाले दिसा सुक्खा र साह्रो बन्दछ ।
  • कम व्यायाम : पहिलेको तुलनामा अचेलका बच्चाहरू बाहिर गएर खेल्न छाडेका छन् । व्यायाम कम गर्ने वा घर बाहिरको खेलकुद कम खेल्ने बच्चामा कब्जियत बढी पाइएको छ ।
  • दिसा नगर्ने बानी : यदि कुनै कारण (खेलकुद , पढाई , डर ) बच्चाको दिसा रोकेर राख्ने बानी परेको छ भने यसले कालान्तरमा कब्जियतको रूप लिन्छ ।
  • दिसा च्यापेर राख्ने अवस्था : विद्यालय वा कुनै सार्वजनिक शौचालयमा बानी नपरेको वा फोहोरका कारणले दिसा गर्न गारो भएको अवस्थामा बच्चाले दिसा च्यापेर राख्ने गर्दछ र दिसा साह्रो हुँदै गोटा पर्दै जान्छ । १-२-३ दिन गर्दा गर्दै यो कब्जियतमा परिणत हुन्छ ।
  • आन्द्राको कम गतिशीलता : कुनै बच्चाको शरीरमा आन्द्राको गति ज्यादै कम हुन्छ। यो वंशाणुगत हुन सक्दछ ।
  • अन्य :
    • पास्नी पछि स्तनपान बाट अरू दूध वा ठोस पदार्थमा खान सुरु गराउँदा केही दिन कब्जियत देखिन्छ ।
    • बच्चा बिरामी भई बान्ता,ज्वरो ,पखाला लागी शरीर निर्जलिकरण भएमा ।
    • कुनै औषधिको प्रयोग भएमा जस्तै : मर्फिन ।
    • कुनै रोग लागेमा जस्तै : हाइपोथाइरोइडिजम , हर्सप्रंग ।
    • १ वर्ष भन्दा मुनिको बच्चाले मह खाएमा ।

उपचार विधि :

लक्ष्य :

  • थुप्रिएर बसेको दिसालाई पूर्ण रूपमा बाहिर निकाल्ने,
  • दिनहुँ पेट खलास पारेर दिसा बाहिर निकाल्ने,
  • दिनहुँ शौच बस्ने बानी लगाउने,
  • फाइबर युक्त आहारको र तरल पदार्थ सेवन गर्ने बानी बसाल्ने र
  • प्राय बच्चामा खाना र दैनिक जीवनशैली परिवर्तन गर्दैमा कब्जियत ठिक हुन्छ । एक पटक कब्जियत सुरु भएपछि यो निको हुन लामो समय लाग्ने भएकोले यसको उपचार गर्न परिवार र विद्यालयबाट धैर्यता, सहकार्य र प्रतिबद्धताको आवश्यकता पर्दछ ।

१ वर्ष भन्दा मुनिको बच्चालाई आहार :

  • २ महिना भन्दा मुनिको बच्चामा कब्जियत हुँदैन, यदि छ भने तुरुन्त चिकित्सकलाई देखाउनु पर्दछ । २-४महिनाको बच्चामा कब्जियत छ भने ३० मिली स्याउ, आल्चा वा नास्पातीको जुस दिनको १-२पटक खुवाउन सकिन्छ । ४ महिना पुगेको बच्चालाई लिटोमा फाइबरयुक्त खाना घोलेर खुवाउन सकिन्छ ।

१ वर्ष भन्दा माथिको बच्चालाई दिइने आहार :

  • बच्चालाई प्रशस्त पानी पिउन दिनु पर्दछ । दिनहुँ तरकारी र फलफूल पर्याप्त मात्रामा दिइनु पर्दछ । बच्चालाई अड्किने खालको फलफूल बाट बचाउनु पर्दछ । फाइबर युक्त खाना जस्तै गहुँ/मकै को चोकर बढी मात्रामा खुवाउनु पर्छ । ४ वर्ष भन्दा माथिको बच्चामा पोलेको, भुटेको वा उसिनेको मकै दिनु खुवाउन सकिन्छ ।
  • कब्जियत गराउने खानेकुराहरू जस्तै भात, पाउरोटी, बजारको तयारी खाना बच्चालाई कम खुवाउनु पर्दछ । बच्चाको खाना परिवर्तन गर्दा परिवारमा सबैले खाने खाना नै परिवर्तन गर्नु जरुरी छ ।

शौचको तालिम :

  • बच्चालाई हरेकपल्ट खाना खाए पछि दिनको २-३ पटक शौचालय जाने तालिम दिनु पर्दछ । दिसा गरे पनि नगरे पनि ५-७ मिनेट शौचालय वा दिसा गर्ने कोपरामा राख्नु पर्दछ जसले गर्दा दिसा गर्नेबिना बस्दछ ।
  • शौचालयमा प्रयोग हुने आधुनिक कमबोट भन्दा प्राचीन शैलीको थुचुक्क बस्न मिल्ने प्यानमा बसाल्दा दिसा खलास हुन्छ । शौचको लागि बस्दा जहिले पनि घुँडालाई खुम्च्याइ छातीमा छुवाउनु पर्दछ र कम्मर भन्दा घुँडा माथि हुन पर्दछ । शौचको तालिम दिँदा बच्चाले दिसा निकाल्न गाह्रो मान्छ वा दिसा अड्काएर राख्छ भने पहिले कब्जियतको उपचार गर्नु पर्दछ । एउटा भाँडोमा मनतातो पानी राखेर त्यस भित्र बच्चालाई बसाउन सकिन्छ । यसबाहेक तातोपानी कपासमा हालेर मलद्वारमा प्रयोग गर्न सकिन्छ ।

औषधिको प्रयोग :

  • यदि खाना परिवर्तन गर्दा वा शौचको तालिम दिँदा पनि कब्जियत सुधार भएन भने औषधिको प्रयोग गरिनु पर्दछ । कब्जियतको बिरामीलाई दिसा पातलो गर्ने औषधि लाभदायक हुन्छ । पहिलो पटक मुखबाट खान मिल्ने औषधि प्रयोग गर्दा राम्रो हुन्छ । मलद्वारबाट हाल्ने औषधि हाल्नु परेमा चिकित्सकको निगरानीमा हाल्नु पर्दछ । धेरै जसो बच्चामा उपचार लामो समय सम्म गर्नु पर्ने हुन्छ ।
  • यदि सबै प्रयोग गर्दा पनि सफल हुन सकेन भने अस्पतालमा भर्ना गरेर मलद्वारको सफाइ (rectal wash ) गर्नु पर्दछ ।

चिकित्सकको सल्लाह कहिले लिने ?

  • यदि बच्चाको दिसा गर्ने समय बढ्दै गएको छ भने,
  • यदि दिसामा रगत देखिएको छ भने,
  • यदि ज्वरो आएको छ भने,
  • यदि छिन छिनमा पिसाब लाग्छ , पिसाब गर्दा दुख्छ भने वा
  • लुगामा दिसा चुहाउन थालेको छ भने ।

तुरुन्त अस्पताल कहिले दौडाउने ?

  • यदि बच्चालाई बढी नै दुखाइ छ भने,
  • बच्चाले बान्ता गर्न थालेको छ, बान्ता हरियो छ भने,
  • बच्चाको पेट फुलेको छ भने,
  • बच्चा २ महिना भन्दा मुनिको छ भने वा
  • १२ महिना भन्दा मुनिको बच्चाले चुस्न छोडेको छ भने ।
कब्जियत दिसा बच्चा

लेखक परिचय

डा. सुशील ढुङ्गेल

जनरल / बाल रोग शल्य चिकित्सक


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग