
अस्पतालमा पुग्दा सेतो एप्रोनमा काँधमा स्टेथिस्कोप भिरेर मन्द मुस्कानमा झुल्किने चिकित्सक पेसा अधिकांशको सपना हो । कठोर मेहनत र सङ्घर्षबाट बनेका चिकित्सक सधैँ बिरामीको रोग र उपचारमा मात्रै सीमित रहँदैनन् । स्वास्थ्य कर्म बाहेक धेरै चिकित्सक साहित्य, मनोरञ्जन, सामाजिक अभियान लगायतका क्षेत्रमा पनि क्रियाशील छन् । यस्तै उदाहरणीय चिकित्सक हुन् मिस्टर नेपाल २०१९ तथा २०२१ का सुप्रा नेशनल नेपाल डा. सन्तोष उपाध्याय । आगामी अगस्ट–सेप्टेम्बरमा पोल्यान्डमा आयोजित ‘सुप्रा नेशनल प्रतियोगिता–२०२१’मा नेपालका तर्फबाट सहभागी हुँदै गरेका उहाँ चिकित्सा पेसासहित अन्य सामाजिक गतिविधिमा निकै सक्रिय हुनुहुन्छ ।
काठमाडौँ महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एमबिबिएसको अध्ययन गरेका डा.उपाध्यायले अध्ययन पुरा भएपछि अछामको कमलबजारमा १५ महिना सम्म मेडिकल अफिसरको रूपमा काम गर्नुभएको थियो । देशका ६५ भन्दा धेरै जिल्ला पुगेका मिस्टर नेपाल डा. सन्तोष उपाध्यायले देशमा देखेको स्वास्थ्य क्षेत्रका केही समस्या र भोगाई डाक्साबमा प्रस्तुत गर्नुभएको छ ।
चिकित्सक पनि मिस्टर नेपाल
म मेरो रहरले चिकित्सक भए, देशका विभिन्न गाउँ पुग्दा अभावका बिच पनि स्वास्थ्य सुविधाको अभाव छ । एक जना चिकित्सक थपिँदैमा स्वास्थ्य क्षेत्र नै परिवर्तन हुने त होइन तर हामीले दैनिक समाचार देख्ने गरेका छौँ गाउँमा एक जना पनि चिकित्सक नहुँदा बिरामीलाई जोखिम मोलेर अन्यत्र रिफर गर्नु पर्ने, समयमा उपचार नपाउने जस्ता घटनामा केही न केही टेवा त पुग्छ नै । त्यो सोचले मलाई चिकित्सक बनायो भने मलाई मोडलिङको क्षेत्रमा छिराउने पनि यही समाज नै हो । बाल्यकाल देखि नै हामीले कुन हिरोले के लगाउँछ, कसरी बोल्छ, के खान्छ, के गर्छ भन्ने कुरा खुब चाख राखेर सिको गर्छौँ । चर्चित मानिसले गर्ने साना–साना कामले पनि समाजमा ठुलो प्रभाव छोड्न सक्छ । मोडलको परिभाषा बुझाउनका लागि म यो यात्रामा लागे । मोडल भनेको रोल मोडल हुनु पर्छ भन्ने मलाई लाग्छ । मिस्टर नेपाल भन्ने त मेहनत पछि जितिएको एउटा पहिचान हो । यो पहिचानलाई समाजले हरेक कोणबाट हेर्न सक्छन् । म चाहन्छु, यदि कोही व्यक्तिले मिस्टर नेपाल २०१९ लाई सम्झिँदै गर्दा चिकित्सक सम्झियोस् अनि समाजसेवीका रूपमा सम्झियोस् । अनि आफू पनि यस्तै बन्ने प्रेरणा लियोस् ।
अछामको कमलबजारमा १५ महिनामा देखिएको नेपालीको स्वास्थ्य पहुँच
सहरी क्षेत्रमा अस्पतालहरू सञ्चालन गर्ने होडबाजी चल्छ, केही मिटरको दुरीमै सरकारी तथा निजी अस्पतालका थुप्रै विकल्प भेटिन्छन् । तर नेपालका धेरै ग्रामीण भेगहरूमा सामान्य स्वास्थ्य चौकीले धेरैको प्राण धानेका छन् । न स्वास्थ्यकर्मी, न उपकरण न औषधि । बिरामी रिफर गर्नुको विकल्प नहुने रहेछ । यही बाध्यतामा थियो अछामको कमलबजार स्थित प्राथमिक स्वास्थ्य चौकी पनि । स्वास्थ्य कार्यालयको साँगुरो भवन थियो । न औषधि थियो न उपकरण । बल्ल–बल्ल पुगेका स्वास्थ्यकर्मीले पनि मन गाँठो पारेर बिरामीलाई नेपालगन्ज रिफर गर्नुको विकल्प थिएन । कमलबजारबाट नेपालगन्ज रिफर गर्नु काठमाडौँको शिक्षण अस्पतालबाट ललितपुरको पाटन अस्पताल रिफर गरेजस्तो होइन । कच्ची सडकमा दिनभरको यात्रामा कति बिरामीले अर्को अस्पताल नपुग्दै ज्यान गुमाउँथे । यस भन्दा अघिसम्म सामान्य सर्जिकलका सामानको पनि अभाव थियो । स्वास्थ्य चौकीमा पुगेका हरेक नागरिकका स्वास्थ्य सम्बन्धी गुनासो सुन्दा पनि स्वास्थ्यका हिसाबले सहर र गाउँको बिचमा ठुलो खाडल रहेको स्पष्ट हुन्छ ।
स्वास्थ्य सुविधाको अभाव
नेपाल सरकारले स्वास्थ्य क्षेत्रको उपकरणमा खर्च गरिरहँदा जनशक्तिमा भने ध्यान दिएको छैन । २२ हजार भन्दा बढी चिकित्सकको माग हुँदा जम्मा २ हजारको हाराहारीमा मात्रै सरकारी चिकित्सक खटाइएको छ । ठुलो सङ्ख्यामा चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरू योग्य भएर पनि अवसर नपाएर बिदेसिँदै छन् । तर ग्रामीण भेगमा पठाइँदैन । सरकारले करारमा भर्ती गरेर झारा टार्ने काम गरे पनि लोकसेवा आयोगबाट भर्ना गरेको छैन । यसले ग्रामीण भेगमा पूर्वाधार विस्तार भए पनि जनशक्ति व्यवस्थापन भइरहेको छैन । स्वास्थ्य क्षेत्रमा मात्र यस्तो क्षेत्र हो जहाँ एक जना योग्य चिकित्सक वा स्वास्थ्यकर्मी भएन भने जुनसुकै व्यक्तिको पनि उपचार अभावमा ज्यान जान सक्छ । यो कुरालाई सरकारले बेवास्ता गर्दा देशका ग्रामीण भेगका धेरै स्वास्थ्य चौकीहरू रिफर सेन्टर मात्रै बनेका छन् । यस्ता घटनाको साक्षी उनी आफैँ बनेका छन् । कमलबजार स्वास्थ्य चौकीमा एक साँझ हातको २ वटा औँला २ टुक्रा भएको अवस्थामा बालकलाई डोर्याउँदै आमा पुगिन् । शिक्षण अस्पतालमा सर्जिकल वार्डमा काम गरेको अनुभवकै आधारमा उनी औँला जोड्न सफल भए । तर उनी काठमाडौँ सरुवा भएको केही दिन पछि उस्तै घटनाको घाइते स्वास्थ्य चौकी पुगे तर चिकित्सक नभएकै कारण उनलाई नेपालगन्ज रिफर गरियो । नेपालगन्ज पुग्दासम्म धेरै समय भइसकेकोले उनको औँला जोडिएन । पर्याप्त चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन हुन नसक्दा एउटै गाउँका उस्तै दुर्घटना भोगेको दुई बालकको जीवनमा धेरै फरक पर्ने देखियो ।
समन्वय अभाव
स्वास्थ्य क्षेत्रलाई स्थानीय निकाय, प्रदेश र संघीय सरकारले प्राथमिकताको सूचिमा राखे पनि स्वास्थ्य क्षेत्रले त्यो अनुभव गरेको देखिँदैन । स्वास्थ्य चौकीमा आकस्मिक औषधि खरिदका लागि चिकित्सकले गरेको सिफारिस स्थानीय तहबाट पास हुनै समय लाग्छ । स्वास्थ्य चौकी तथा स्थानीय अस्पतालहरू आर्थिक रूपमा स्थानीय निकायसँग जोडिने भएकाले बजेट पास हुनै समस्या देखिन्छ । त्यसपछि प्रदेश तथा संघीय सरकारबाट माग गर्नुपर्ने सेवा सुविधा सोझै स्वास्थ्य संस्थाले पाउँदैनन् । ग्रामीण भेगमा खटिने स्वास्थ्यकर्मीको काम उपचार कम, सरकारी संयन्त्रसँग समन्वय धेरै गर्नुपर्ने विडम्बना छ । जुन स्वास्थ्य क्षेत्रका लागि विडम्बना बनिरहेको छ। कमलबजारमा मात्रै उनले यो समस्या भोगेनन्, काठमाडौँ शिक्षण अस्पतालबाट सरुवा भएर अछामको विकट ठाउँ जान समेत उनले फलामको चिउरा चपाउन सरह भएको थियो ।
मिस्टर नेपाल डाक्टर अबको भूमिका
हरेक महिना जस्तो कुनै न कुनै स्वास्थ्य सम्बन्धी कार्यक्रम लिएर ग्रामीण भेगमा पुग्ने सन्तोष अब सरकारी संयन्त्रकै प्रयोग तथा नागरिकको सहभागितामा नै ग्रामीण भेगमा स्वास्थ्य समस्या समाधान गर्ने अभियानमा हुनुहुन्छ । मिस्टर नेपालको पहिचानले विभिन्न निकायले गर्ने विश्वास र सहयोगलाई स्वास्थ्य क्षेत्रका उत्थानमा जोड्ने प्रयासमा हुनुहुन्छ ।
ब्रेन एण्ड ब्युटी मिस्टर नेपाल