Logo

रेटिनोब्लास्टो भनेको के हो र यसका लक्षणहरू

डाक्साब
सोमवार, बैशाख २६, २०७९ मा प्रकाशित

काठमाडौँ । विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह २०२२ को सन्दर्भमा वैशाख २५ गते देखि ३१ गते सम्म तिल गंगा अस्पतालले सचेतना सप्ताह मनाउने भएको छ ।

रेटिनोब्लास्टोमा भनेको बालबालिकामा हुने एक वा दुवै आँखाको भित्री भागको पर्दा बाट पलाउने एक प्रकारको क्यान्सर हो । यो रोग ५ वर्ष मुनीका बालबालिकाहरूमा देखिने गर्दछ । विज्ञहरूका अनुसार १५ हजार नवजात शिशु जन्ममध्ये एक जनामा देखिने यो रोगले बालबालिकामा हुने सम्पूर्ण क्यान्सरको ५ प्रतिशत ओगटेको छ ।

यदि यो रोगको उपचार ढिलो भएमा आँखाको सम्पूर्ण भागमा फैलिएर ज्यान समेत जान सक्छ । त्यसैले नेपाल लगायत विकासोन्मुख देशहरूमा यस रोगबाट हुने मृत्युदर अधिकतम ५० प्रतिशत रहेको छ भने विकसित देशहरूमा ५ प्रतिशत भन्दा कम रहेको छ ।

रेटिनोब्लास्टोमा एउटा जटिल रोग भए पनि समयमा नै यसका लक्षणहरू बुझी प्रारम्भिक अवस्थामै चिकित्सककोमा जान सके बालबालिकालाई पूर्ण रूपमा क्यान्सर मुक्त बनाउन सकिने चिकित्सकहरूले बताएका छन् ।

यसका लक्षणहरू
आँखाको कालो नानीको बिच भागमा असाधारण सेतो ज्योति देखिनु हो
रङ्गिन फोटोमा आँखाको नानी सेतो देखिनु
आँखा डेढो देखिनु
आँखा रातो हुनु
आँखा दुख्नु
दृष्टि कम हुनु
आँखाको आकार ठुलो हुँदै जानु र बाहिर तिर आउनु

यदि रेटिनोब्लास्टोमा भएका बालबालिकाहरूको समयमै उपचार नभएमा आँखाको डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्य रूपमा बढिरहने हुन सक्छ । र उक्त क्यान्सर बिस्तारै आँखाको बाहिर तथा शरीरको अन्य अङ्ग जस्तै दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यान समेत जान सक्ने चिकित्सकहरू बताएका छन् ।

डा।पूर्णिमा राजकर्णिकारका अनुसार,“हाम्रो समाजमा आँखा डेढो भएका तथा कालो भागको बीच भाग सेतो भएका बालबालिकाहरूलाई भाग्यमानी ठान्ने चलन छ । र यी पनि रोगको लक्षण हुन सक्छन् भन्ने ज्ञान छैन । कतिपय मानिसले भने यी लक्षणका जटिलतालाई बुझेका हुँदैनन् भने कतिपयले बच्चाको रोगलाई लुकाउन अस्पताल जानमा ढिलाइ गर्छन् । यिनै कारणले गर्दा यो रोग लागेका बालबालिकाहरूलाई अस्पताल ल्याउँदा रोग जटिल अवस्थामा पुगिसकेको हुन्छ ।”

यो रोग लागेका बालबालिकाहरूमध्ये ६० प्रतिशतमा एउटा मात्र आँखामा असर देखिन्छ भने ४० प्रतिशतमा दुवै आँखामा रोग देखिन्छ । दुवै आँखामा देखा परेमा यो रोग वंशाणुगत हुने तथा शरीरका अन्य भागमा पनि क्यान्सर देखिने सम्भावना धेरै हुन्छ ।

यो रोग लागेका बिरामीका परिवारका अन्य सदस्यमा पनि यो रोग भएको हुन सक्ने हुनाले अन्य सदस्यको पनि जाँच गराउनुपर्छ । यो रोगको उपचारको लागि लेजर तथा शल्यक्रिया बाहेक केमोथेरापी,थरमोथेरापी,क्रायथेरापी र रेडियोथेरापी इत्यादि प्रमुख उपचार पद्धतिमा पर्दछन् ।

प्रतिष्ठानमा भएको एक अनुसन्धानमा आँखा सहित आँखा वरपरका हड्डी समेत निकालिने जटिल शल्यक्रियाको प्रमुख कारण मध्ये ३२.१ प्रतिशत रेटिनोब्लास्टोमा भएको देखिन्छ । तिलगंगा आँखा प्रतिष्ठानमा यस रोगको उपचार १५ वर्ष देखि हुँदै आइरहेको छ ।

विगत ६ वर्ष देखि आँखाको क्यान्सर रोग विभागबाट नेपालकै पहिलो आँखाको क्यान्सर रोग विशेषज्ञ डा। पूर्णिमा राजकर्णिकारद्वारा अझ विस्तृत रूपमा यसको उपचार भइरहेको छ । यस रोग लागेका आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेकाको लागि प्रतिष्ठानले ओपन आईज नेपालको सहयोगमा निःशुल्क उपचार प्रदान गरिरहेको छ ।

 


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग